२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच शिष्टाचार भेट

१८ कार्तिक २०८२, सोमबार १८:१३

काठमाडौँ | कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यवाहक राष्ट्रपति यादवले नेपाल र जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास र सहयोगप्रति सन्तोष व्यक्त गर्नुभएको थियो । उहाँले उच्चस्तरीय भ्रमण, विकास साझेदारी, जनस्तरको सम्बन्ध, लगानी तथा पर्यटन क्षेत्रलाई दुई देशबीचको सम्बन्धका आधारस्तम्भका रूपमा उल्लेख गर्नुभयो ।

जेनजी आन्दोलनपछि नेपालको लोकतान्त्रिक यात्राले नयाँ गति लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उत्तरदायी, जवाफदेही र भ्रष्टाचारमुक्त शासनप्रति जनआकाङ्क्षा राष्ट्रिय एजेण्डाका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले आगामी ५ मार्च २०२६ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने सरकारको प्राथमिकताबारे समेत जानकारी दिनुभयो ।

सङ्घीय गणतन्त्र जर्मनी नेपालका प्रमुख विकास तथा व्यापार साझेदारमध्ये एक रहेको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले सन् १९६१ देखि प्राप्त हुँदै जर्मन सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा जर्मनीले बहुपक्षीय मञ्चमा खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि आपसी हितका विषयमा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले आगामी वर्ष अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उक्त लक्ष्यलाई दिगो बनाउन जर्मनीलगायत विकास साझेदारहरूको पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक रहेको बताउनुभयो ।

जर्मनीका राजदूत उदो युगेन भोल्जले नेपाल–जर्मनी सम्बन्ध अत्यन्तै घनिष्ट र बलियो रहेको उल्लेख गर्दै नेपालको सरकारलाई जर्मनीको निरन्तर समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…