निर्माण व्यवसायीको लापरवाहीले पुर्वाधार निर्माणको काम सुस्तः राज्यमन्त्री गुरुङ

Posted on: 28 Sep, 2017

प्रकाश धौलाकोटी | असोज १२, तेह्रथुम | भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरवाहीको कारण पुर्वमा पुर्वाधार निर्माणको सुस्त भइरहेको बताउनुभएको छ । निर्माण व्यवसायी र कम्पनीकै कारण सरकार र मन्त्रालयको बद्नाम समेत हुने गरेको राज्यमन्त्री गुरुङले बताउनुभयो । 

गृहजिल्ला तेह्रथुमका सडक, पुल तथा अन्य योजनाहरुको अवस्थाबारे अवलोकन तथा अनुगमनका लागि आइपुग्नुभएकी राज्यमन्त्री गुरुङले तेह्रथुम जिल्लामा योजनाहरु र तिनका लागि आवश्यक बजेट पर्याप्त भएपनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा समस्या आइरहेको बताउनुभयो । निर्माण व्यवसायीले क्षमता भन्दा धेरै योजना सम्झौता गर्ने र विभिन्न बाहना देखाउदै समयमा काम नगर्ने चलन देशभर मौलाएको प्रति चिन्ता व्यक्त गर्दै त्यसको निराकरणका लागि आफु निरन्तर प्रयासरत रहेको बताउनुभयो । 

वर्षामा क्षतिग्रस्त बनेका सडकहरुमा मर्मत र निर्माणका लागि जिम्मा लिएका ठेकेदार कम्पनी, व्यवसायी र भौतिक पुर्वाधार मन्त्रालय र मातहतका डिभिजन कार्यालयहरु मार्फत दशैँ, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी यथासिघ्र सवारी आवत् जावत्लाई सहज बनाउन निर्देशन दिएको बताउनुभयो । तेह्रथुममा ठेकेदारको लापरवाहीकै कारण दर्जनौँ योजनाहरु सुस्त गतिमा मात्रै काम भइरहेका छन् ।

जिल्लाको मेरुदण्डको रुपमा विकास भइरहेको मध्यपहाडी लोकमार्गको ट्रयाक ओपन भइसकेपनि स्तरोन्नति र कालोपत्रेको काम गर्ने कम्पनीले दु्रत गतिमा काम गर्न सकेको छैन । खोरुङगा र कोया खोलाको पुल निर्माणको काम पनि निर्माणको प्रक्रियामा छन् । तर तीब्र गतिमा काम हुन सकेको छैन । म्याङलुङ–बसन्तपुर सडक खण्डको स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगर्दा अहिलेपनि वर्षा हुनासाथ सवारी अवरुद्ध हुने अवस्था छ । 

सिधुवा–शुक्रबारे सडक स्तरोन्नतिको जिम्मा लिएको कम्पनीले पनि समयमा काम गर्न सकेको छैन । म्याङलुङ–ओख्रे सडक खण्डको लम्बु खोलामा पुल निर्माणको काम म्याद सकिएर तीन पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । म्याङलुङ–याशोक सडक खण्डको तमोर नदी लुमुघाटमा पनि पुल निर्माणको काम अलपत्र छ । 

जिल्लाका दर्जनौँ योजनाहरुमा ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाबासीले दुःख र सास्ती बेहोर्नु परेको भन्दै राज्यमन्त्री गुरुङले दुःख व्यक्त गर्नुभयो । जिल्लाको विकास निर्माणमा आफुले बढी भन्दा बढी चासो दिएर आफ्नो कार्यकालमा काम गर्दै आएको समेत राज्यमन्त्री गुरुङले स्मरण गर्नुभयो । गृहजिल्ला आइपुग्दा राज्यमन्त्री गुरुङलाई जिल्ला समन्वय समितिले सम्मान तथा स्वागत र बधाई समेत दिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले जिल्लाको पुर्वाधार निर्माणको कमजोर अवस्था हुनुमा निर्माण कम्पनीहरुकै कमजोरी भएको देखिएको स्पष्ट पार्नुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!