२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकको निर्णय

२६ कार्तिक २०८२, मंगलवार १७:३५

काठमाडौँ | सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिनुभएको हो ।

मन्त्रालयअन्तर्गत काठमाडौँको कान्तिबाल अस्पताल र स्वास्थ्य बिमा बोर्ड तथा धनगढीको गेटा अस्पताल, बाँके खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पतालका लागि दरबन्दी स्वीकृत गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टङ्कप्रसाद बारकोटीले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्ण, धनुषालाई प्रदेश प्रमुखमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइन विस्तारका क्रममा नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपुर जिल्लास्थित सो प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँका करिब एक हजार ३८१ हेक्टर क्षेत्रफलको जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रूख रोप्न नपाइने निर्णय गरेको छ ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको सरकारले भूउपयोग–तेस्रो संशोधन) नियमावली, २०८२ पनि स्वीकृत गरेको छ ।

बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा वरिष्ठतम् अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

साविक रेशमखेती विकास कार्यक्रम धनकुटाको नाममा रहेको धनकुटा नगरपालिका–७ स्थित २५ रोपनी चार आना तीन पैसा जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ ।

यसैगरी आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ ।

नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णयसहित नेपाली सेनाद्वारा सञ्चालन हुने तालिम सहयोगका लागि नेपाली सेना र ‘अफिस अफ डिफेन्स कोअपरेसन’, अमेरिकी राजदूतावासबीच सम्पन्न भएको समझदारीपत्रको अवधि दुई वर्ष थप गर्न स्वीकृति दिएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले भारतको विशाखापटनम्मा यही कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३०औँ ‘पार्टनरसिप समिट’ २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गरेको छ ।

यस्तै आगामी मङ्सिर ८ देखि १२ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने ‘आइएइए स्कुल अन न्युक्लियर एन्ड रेडियोलोजिकल लिडरसिप फर सेफ्टी एन्ड फर न्युक्लियर सेक्युरिटी’ कार्यक्रममा विज्ञान प्रविधि सचिव विश्वबन्धु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने