काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गरेका कामलाई नजिकबाट नियालिरहेको बताएका छन् । सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले भनेका छन्, “सरकारले गरेका कामलाई हेरेर, बुझेर त्यसलाई प्रश्नसहितको आलोचना पनि गर्न पाइन्छ । विरोध गर्न पनि पाइन्छ । राम्रो काम भयो भने समर्थन पनि गर्ने हो ।”
सरकारले गरेका सबै कामलाई स्वीकार गरेर नबस्ने उनले बताए । “त्यो काम मबाट हुन सक्दैन,” उनले भनेका छन्, “माटोबाट पनि हुन सक्दैन ।” सरकारको कामप्रति प्रश्न गर्ने उनले उल्लेख गरेका छन् । “यदि प्रतिपक्षले सरकारको कार्यको चेक एन्ड ब्यालेन्सका लागि प्रश्न गर्दैन भने कसले गर्ने हो ?” उनले भनेका छन् ।
प्रतिपक्ष चुप लागेर बस्दा सरकारले चाहिने/नचाहिने निर्णय गरेर असफल पनि हुन सक्ने उनको धारणा छ ।