काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट छोड्न प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेका छन्।
गौतमले ७४ वर्षीय ओली वृद्ध र शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै यस अवस्थामा उनलाई हिरासतमा राख्नु उचित नभएको बताएका छन्। उनले रातारात घर घेरेर बिहानै पक्राउ गर्ने शैली गलत भएको भन्दै प्रधानमन्त्रीलाई उक्त गल्ती सच्याउन अनुरोध पनि गरेका छन्।
‘केपी शर्मा ओलीमाथि लगाइएका वा गर्न खोजिएका कसुरको घटना, प्रमाण र कानुनले के भन्छ भन्ने परीक्षण पहिला हुनुपर्ने थियो,’ गौतमले भने। ‘त्यो नगरी रातारात पक्राउ गर्नु गलत भयो। म अनुरोध गर्दछु, यो गल्ती सच्याउनुहोस्। एउटा वृद्ध र अस्वस्थ राजनीतिक व्यक्तिलाई यस्तो तहको कष्टमा पार्नु ठीक छैन।’