कात्तीक ११, गुल्मी । प्रदेश नम्बर ५ अन्तरगत पर्ने गुल्मी बिभिन्न पार्टीका केन्द्रिय र प्रभावशाली नेताहरु भएको जिल्ला हो ।
गुल्मीमा नेकपा एमालेका दुई केन्द्रिय सचिव, कांग्रेसका एक केन्द्रिय सदस्य र माओवादी केन्द्रका एक दर्जनभन्दा बढी केन्द्रिय सम्मेलन आयोजक सदस्यहरु रहेका छन् ।
राप्रपा र जनमोर्चाका पनि केहि केन्द्रिय सदस्यहरु रहेका छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय नजिकिएको छ । जसका कारण जिल्लामा चुनावी सरगर्मी बढ्दै जान थालेको छ ।
स्थानीय निकायको चुनावमा काङग्रेस माओवादीबिच भएको तालमेल अहिले एमाले माओवादी सहितका बिचमा भएको छ । गुल्मीमा गएको स्थानीय निकायको चुनावको मतलाई आधार मानेर हेर्दा बाम गठबन्धनको जनाधार बलियो देखिएको छ ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गुल्मीमा बाम गठबन्धन बलियो देखिएको छ । स्थानीय निकायको निर्वाचनमा दलहरुले पाएको मतको आधारमा गठबन्धन बलियो देखिएको हो ।
गुल्मीमा हाल २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वार्ड नम्बर २, ५ र ६ समावेश गरि प्रदेश सभा १ निर्माण भएको छ ।
यो प्रदेशमा स्थानीय निकायको निर्वाचनको सदर मत ३५ हजार दुई सय ९१ हो । जसमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्थात बाम गठबन्धनको २० हजार चार सय ६३, नेपाली काङ्ग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यलय गुल्मीले जनाएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धन काङ्ग्रेस भन्दा पाँच हजार सात सय ५८ मतले अगाडी रहेको छ ।
रुरु गाउँपालिकाको वार्ड नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको वार्ड नम्बर ७ देखि १४ सम्म गरि प्रदेश सभा २ को निर्माण गरिएको छ । यस प्रदेश सभामा स्थानीय निकायको निर्वाचनमा ४५ हजार २६ कुल सदर मत रहेको छ ।
जसमध्ये बाम गठबन्धनले २२ हजार चार सय १६, नेपाली काङ्ग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयका नायब सुब्बा श्याम पाण्डेले जानकारी दिए । प्रदेश नम्बर २ मा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा सात हजार दुई सय २२ मतले अगाडी देखिएको छ ।
रेसुङ्गा नगरपालिकाको वडा नं १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका गरी प्रदेश सभा ३ निर्माण भएको छ । स्थानीय तह निर्वाचनमा यो प्रदेशको कुल सदर मत २८ हजार ५३ रहेको थियो । जसमध्ये बाम गठबन्धनले १५ हजार आठ सय ७७, नेपाली काङ्ग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेको नायव सुब्बा पाण्डेले बताए ।
यो प्रदेशमा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा तीन हजार आठ सय ६२ मतले अगाडी रहेको छ । गुल्मीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ मा धुर्कोट, मदाने र मालिका गाउँपालिका रहेका छन् । स्थानीय निकायको निर्वाचन अनुसार यस सभामा ३२ हजार तीन सय ३८ मत सदर भएको छ । जसमध्ये एमाले र माओवादीको कुल मत २० हजार आठ सय ९५ र काङ्ग्रेसको ११ हजार तीन सय २३ रहेको छ ।
अन्य दलहरुले एक सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यो प्रदेशमा गठबन्धन सबैभन्दा धेरै नौ हजार पाचँ सय ७२ मतले अगाडी रहेको छ ।
जिल्लामा मतका आधारमा २०५१ साल देखि नै वामपन्थीहरु अगाडी छन् । ०५१ र ५६ सालमा गुल्मीका तीव वटै निर्वाचन क्षेत्र एमालले जितेको थियो ।
०६४ सालको निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र माओवादी र एउटा निर्वाचन क्षेत्र एमालेले जितेको एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले बताए । त्यस्तै ०७० सालमा कांग्रेसले दुई निर्वाचन क्षेत्र र एमालेले एउटा निर्वाचन क्षेत्रमा बिजयी हासिल गरेको थियो । तर एमालेले एउटा मात्र निर्वाचन क्षेत्र जितेपनि मतको आधारमा वाम पन्थीहरु अगाडी नै थिए ।
भर्खरै सम्पन्न १२ स्थानीय तहको चुनावमा कांग्रेस एक्लैले दुई स्थानीय तह जितेको थियो । भने कांग्रेस माओवादीबिचको गठबन्धनले दुई कांग्रेस र एक स्थानमा माओवादी केन्द्र बिजयी भएको थियो । त्यस्तै एमालले एक्लैले ७ स्थानीय तह जितेर जिल्ला समन्वयन समिती गठन गरेको थियो ।
गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् ।
जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश बहादुर खत्रीले बताए ।
गएको स्थानीय निकाय चुनावमा गुल्मीमा एक लाख ८० हजार सात सय ७५ मतदाता रहेका छन् । प्रतिनिधिसभा सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ अनुसार गुल्मीमा दोस्रो चरण अन्तगरगत मंसिर २१ मा निर्वाचन हुन लागेको हो ।
जसका लागि कार्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै १७ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने, १८ गते मनोनयनपत्र र उजूरी उपर जाँजबुझ गरी निर्णय गरी नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारको नाम फिर्ता लिने, पुन उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अनुगमन अधिकृत दुर्गा प्रसाद बस्यालले जानकारी दिए । हुमाकान्त पोखरेलको सहयोगमा