कात्तिक -६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा धार्मिक भ्रमणका लागि पत्नी निकितासहित भारत प्रस्थान गरेका छन्।

[फाइल फोटो]
लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी प्रस्थान गरेका हुन् । धनगढीबाट उनी भारततर्फ जाने कार्यक्रम रहेको छ ।
लामिछानेको सचिवालयले भ्रमण पूर्ण रूपमा निजी, पारिवारिक तथा आध्यात्मिक उद्देश्यले तय गरिएको जनाएको छ । भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीताल नजिकै रहेको प्रसिद्ध कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।
सचिवालयका अनुसार लामिछानेले तीनदिने धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरेपछि स्वदेश फर्किनेछन्। भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन।