२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नं २ को पहिलो बैठकको कार्यसूची आज तय हुने

२०७४, १८ माघ बिहीबार ०७:०५

अजयकुमार साह / माघ  १८, धनुषा | प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ । 

प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदीय सचिवालयका कर्मचारी तथा सरोकारवालासँग छलफल गर्नुभएको थियो भने आज प्रदेश सभाको पहिलो बैठकको विषयमा कार्यविधि तयार गर्न सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ । प्रमुख कायस्थले माघ २१ गते हुने प्रदेश सभाको पहिलो बैठकका लागि दलसँग परामर्श गर्ने आज परामर्श बैठक आह्वान गर्नुभएको हो । 

बैठकबाट २१ माघमा हुन लागेको प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूचीको विषयमा निर्णय हुनेछ । दलहरुको सहमतिमा नै अधिवेशनको कार्यसूची तयार गरिने प्रदेश प्रमुखका स्वकीय सचिव बरुण यादवले बताउनुभयो । 

प्रदेश सभाले सभामुख, उपसभामुखको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सरकार गठनका लागि पनि प्रयास गर्नुपर्नेछ । तयारी बैठकमा यसबारे पनि छलफल हुनेछ । बैठकको तयारीका लागि संघीय संसद् सचिवालयले सहसचिव वंशीराज पौडेलको नेतृत्वमा कर्मचारी खटाएको छ । उहाँले ज्येष्ठ सदस्यलाई बैठक सञ्चालनका लागि आवश्यक समन्वय गर्नुहुनेछ । 

त्यसैगरी, जिल्ला सुरक्षा समितिले प्रदेश सभाका लागि प्रहरी इन्स्पेक्टरको नेतृत्वमा २१ जना मर्यादापालक सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ । केन्द्रीय संसद्मा जस्तै उनीहरु सादा पोशाकमा खटिने धनुषा प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार सुरक्षा समितिको निर्णयअनुसार बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका करिब ५० जना खटाइनेछन् । मर्यादापालकको संख्या पनि ५० पु¥याउने लक्ष्य रहेको प्रहरी नायब निरीक्षक सिंहले बताउनुभयो । 

माघ ७ गते प्रदेश प्रमुख कायस्थले प्रदेश सभाका ज्येष्ठ सदस्य ललनलाल चौधरीलाई शपथग्रहण गराउनुभएको थियो भने चौधरीले बाँकी १०६ जना सदस्यलाई शपथ ग्रहण गराउनुभएको थियो । सोही दिन प्रमुख कायस्थले २१ माघका लागि संसद्को पहिलो अधिवेशन तय गर्नुभएको थियो । 

उहाँले भन्नुभयो, “हामी संघीय संरचनामा भर्खरै प्रवेश गरेका छौँ, त्यस अनुसारको पूर्वाधार र तयारी छैन । निर्वाचित भएर आउनुभएका सांसदसँग पनि पर्याप्त अनुभव छैन । मेरो प्रशासकीय र राजनीतिक अनुभवका आधारमा म उहाँहरूलाई समन्वय र सहजीकरण गरिरहेको छु ।” 

उहाँले आफूले सबैलाई सहज हुने गरी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो बैठकमा तय हुने विषयवस्तु पनि छलफलबाट तय हुन्छ । संविधानले मलाई दिएको दायित्वका आधारमा प्रदेश सभाका सदस्य र राजनीतिक दललाई मेरो पूर्ण सहयोग रहन्छ ।” 

प्रदेश सभामा आवश्यक पूर्वाधार केन्द्रीय संसद्को जस्तै हुने गरी तयारी भइरहेको छ । 

यही २१ माघमा जनकपुरको कुवा रामपुरस्थित शैक्षिक तालीम केन्द्रको सभाहलमा बैठक बस्ने भएको हुँदा प्रदेश सभाका लागि तालीम केन्द्रको भुइँतलामा सभाहल निर्माण भइरहेको छ । त्यसका लागि आवश्यक फर्निचर निर्माण, खरिद तथा भवनका सबै कोठामा धमाधम सरसफाइ भइरहेको छ । 

शहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले १९ माघमा व्यवस्थापिकाका लागि भवन प्रदेश सभा सचिवालयलाई हस्तान्तरण गर्ने तयारीका साथ काम गरिरहेको छ । प्रदेश सभाको अधिवेशनका लागि १० माघदेखि नै तयारीमा जुटेको छ । 

डिभिजन कार्यालय जनकपुरका प्रमुख गंगाप्रसाद यादवका अनुसार प्रदेश सभाका लागि तालीम केन्द्रको सभाहलमा मर्मत–सम्भार, रंगरोगन, फर्निचर, लाइट लगायतका कार्य युद्धस्तरमा भइरहेको छ । प्रमुख यादवले भन्नुभयो, “समय एकदमै कम भएकाले दिनरात काम भइरहेको छ । जेनेरेटरको व्यवस्था गरेर राति पनि काम गरिरहेका छौँ ।” शैक्षिक तालिम केन्द्रमा करिब ६० जना मजदुर दिनरात खटिएका छन् । 

डिभिजन कार्यालयले सहायक सबइन्जिनियर सूर्यनारायण मण्डललाई निर्माण कार्यको रेखदेख गर्न खटाएको छ । सभामुख र उपसभामुखको आवास उनीहरूका लागि बेग्लाबेग्लै कार्यकक्ष, प्रदेश सभा सचिवालयको तयारी भइरहेको छ । 

पाँच पार्टीको संसदीय दलको कार्यालय पनि शैक्षिक तालीम केन्द्रको माथिल्लो तलामा तयार भइरहेको छ । ६ बिघा क्षेत्रफलमा रहेको शैक्षिक तालिम केन्द्रमा सातवटा भवन रहेका छन् । प्रदेश सभामुखका लागि जिल्ला शिक्षा कार्यालयको भवनमा आवास तथा कार्यकक्ष तयार हुँदैछ । 

शैक्षिक तालिम केन्द्रको माथिल्लो तल्लामा प्रदेश सभा सचिवालय, उपसभामुखको आवास तथा कार्यकक्ष निर्माण भइरहेको छ । छात्रछात्रा तथा प्रशिक्षक भवनमा कर्मचारीको कार्यालय तथा आवासको व्यवस्थापन हुँदैछ । 

केन्द्रको भुइँतलामा तयार भइरहेको प्रदेशसभा हलमा १५० कुर्सीको व्यवस्था गरिँदैछ । प्रदेश सभामा १०७ सदस्य सांसद छन् । केन्द्रको संसद् भवनमा जस्तै माथिल्लो तल्लामा बाल्कोनीको व्यवस्था गरिँदैछ । बाल्कोनीमा दर्शक तथा सञ्चारकर्मीलाई बस्ने व्यवस्था मिलाइँदैछ । सचिवालयको हरेक क्रियाकलाप निगरानीका लागि सिसिटिभी क्यामराको समेत जडान हुँदैछ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ