2026-09-15 07:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस

माघ १९, धनगढी | माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । 

वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । 

उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिनुभयो । 

उहाँले राससलाई भन्नुभयो, “अब दुई÷तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।” यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित हुनुभएको थियो । 

बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४सांसद छन् । 

प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ । 

त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली काँग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ । डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताउनुभयो । “पार्टीले सातवटै प्रदेशमा केन्द्रबाट नेता खटाएको छ ।” सांसद मल्लले भन्नुभयो, “छलफल गर्छौं र आवश्यताअनुसार निर्णय लिन्छौँ ।” प्रदेश नं ७ मा काँग्रेसबाट चार निर्वाचित र आठ समानुपातिक गरी १२ सांसद छन् । 

प्रदेश नं ७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टीले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउने छ । राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद रहनुभएका मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफूहरु निर्णय लिन छलफल गर्ने बताउनुभयो । त्रिपन्नजना सांसद रहेको प्रदेश नं ७ मा नेकपा (एमाले) का २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् । 

एमालेभित्र पनि लबिङ 

प्रदेश नं ७ मा वाम गठबन्धनले मुख्यमन्त्री माओवादी केन्द्रलाई र सभामुख नेकपा (एमाले)लाई दिने सहमति गरेसँगै प्रदेशसभामा बढी सांसद संख्या रहेको नेकपा (एमाले) भित्र पनि सभामुख र संसदीय दलको नेताका लागि लबिङ हुन थालेको छ । 

एमालेभित्र अहिले कञ्चनपुरबाट निर्वाचित सांसद तारालामा तामाङ, बाजुराबाट निर्वाचित प्रकाश शाह र कैलालीबाट निर्वाचित दीर्घ सोडरी संसदीय दलको नेताका लागि दाबेदार देखिनुभएको छ । 

संसदीय दलको नेताका लागि आकांक्षी देखिनुभएका बाजुराका सांसद शाहले पार्टीको प्रदेश कमिटिको नेतृत्व सहमतीबाटै नेता छान्नेमा आफू आशावादी रहेको बताउनुभयो । आफू वरिष्ठ नेता भएका शाहले संसदीय दलमा आफ्नो दाबी रहेको जानकारी दिनुभयो । “पार्टीको प्रदेश कमिटीको नेतृत्वले विधि, प्रक्रिया तोडेर जाँदैन भन्नेमा छु ।” उहाँले भन्नुभयो, “सर्वसम्मतको प्रयास पनि हुन्छ ।” 

एमालेभित्र डोटीका पूर्णा जोशी, डडेल्धुराका पठानसिंह बोहरा र बझाङका अर्जुन थापाको नाम पनि सभामुखको पदमा चर्चा छ । 

माघ २१ गते बिहान एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रदेश संयोजक भीम रावलको उपस्थिति रहने बैठकमा सभामुख, संसदीय दलको नेता र मन्त्रीहरूको छनोटको विषयले प्राथमिकता पाउनेछ । 

माओवादीभित्र भने उपसभामुखमा बझाङबाट प्रदेशसभामा निर्वाचित देवकी मल्ल र डडेल्धुराबाट समानुपातिक सांसद कुन्ती जोशीको चर्चा हुन थालेको छ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

माओवादीबाट उपसभामुखका आकांक्षी देवकी मल्लले आफूले उपसभामुखका लागि दाबी गरेको बताउनुभयो । “मैले त मुख्यमन्त्रीकै लागि दाबी गरेकी थिएँ ।” उहाँले भन्नुभयो, “अरु साथीहरु देखेपछि उपसभामुख नभए मन्त्रीका लागि आकांक्षा राखेकी छु ।” उहाँले पार्टी र प्रदेश संसदीय दलको बैठकमा उक्त विषयमा छलफल हुने बताउनुभयो । 

ज्येष्ठ सदस्य धनगढी आउँदै 

प्रदेश नं ७ को आइतबार हुन लागेको पहिलो बैठक प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्नेछ । बैठकका लागि उहाँ शुक्रबार काठमाडौँबाट धनगढी आउँदै हुनुहुन्छ । 

ज्येष्ठ सदस्य शाहले आफू बैठकका लागि धनगढी आउन लागेको राससलाई जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभाकक्षमा हुने बैठकको तयारी दु्रत गतिमा भइरहेको प्रदेश नं ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । 

“बैठकका लागि सभाकक्षमा तयारी हुँदैछ ।” उहाँले भन्नुभयो, “बैठक बस्नुअघि तयारी भइसक्ला ।” बैठकका लागि चार सदस्यीय संघीय संसद् सचिवालयबाट सहसचिव मुरारी महतको नेतृत्वमा एक टोली धनगढी आइपुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ