जेठ ३, काठमाडौं | नेकपा एस (एकीकृत समाजवादी)को संसदी दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताएका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘बल्ल परिणामहरू आउनेक्रम सुरु भएको छ । गठबन्धनको त्यति धेरै प्रभाव हाम्रो पार्टीको लागि भएन । तर पनि यो एउटा प्रक्रिया जारी रहेकोले अहिले निचोडमा पुग्ने बेला बनिसकेको छैन,’ आज संसद बैठकबाट बाहिरिने क्रममा श्रेष्ठले भने ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृति समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाबीच पाँच दलीय गठबन्धन बनेको थियो ।
स्थानीय तहको परिणामले गठबन्धन टुट्छ त ? भनि पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘यो सबै परिणामहरु आइसकेपछि समिक्षा हुनेछ । राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । यसको छुट्टै महत्व छ ।’
आज विहान मात्र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि चुनावी परिणामलाई लिएर गठबन्धनप्रति असन्तुष्टी जनाएका थिए । उनले गठबन्धनको समिक्षा गर्नुपर्ने बताएका थिए ।