जेठ ५, काठमाडौँ | सिक्किम सीमा क्षेत्र जोडिएको पाँचथरको स्थानीय तह हो– याङ्वरक गाउँपालिका ।
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सांसद गणेशकुमार काम्बाङले यो स्थानीय तहमा यस पटक गठबन्धन दलको झण्डा फहराउन चाहेका थिए । जुन सांसद काम्बाङको गृहपालिका पनि हो ।
तर, गठबन्धन दलका यी नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउन सकेनन् । महागठबन्धनविरुद्ध एक्लै लडेर एमालेले लालकिल्ला जोगायो ।
वडा नम्बर, १, २, ३ र ४ सम्मको मतगणना हुँदासम्म भने गठबन्धन दलका अध्यक्ष पदका उम्मेदवार मबिन्द्र योङ्या र उपाध्यक्ष पदका उम्मेदवार अर्जुन बेघाको अग्रता थियो ।
यद्यपि, सांसद काम्बाङको वडासमेत रहेको वडा नम्बर ५ मा आइपुग्दा भने एमालेबाट अध्यक्ष पदका उम्मेवदार भीमबहादुर योङ्या र उपाध्यक्ष पदका उम्मेदवार बाबा मेन्याङ्बोले अग्रता मात्र तोडेनन्, अन्ततः निर्वाचन नै जिते ।
निर्वाचन अधिकृतको कार्यालय याङ्वरकले जनाएअनुसार भीमले अध्यक्ष पदमा चार हजार ११८ र मेन्याङ्बोले उपाध्यक्ष पदमा तीन जहरा ९९८ मत प्राप्त गरे ।
गठबन्धनबाट अध्यक्षमा पराजित मबिन्द्रले चार हजार ३८ र उपाध्यक्षमा पराजित बेघाले तीन हजार ६७९ मत प्राप्त गरेका थिए ।
२०७४ मा यही गाउँपालिकामा एक्लाएक्लै निर्वाचनमा जाँदा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला तेस्रो स्थानमा धेरै मतान्तरले माओवादी थियो ।
तर, निर्वाचनअघि सोझो रूपमा हेर्दा भने पहिले कांग्रेसले पाएको र माओवादीले पाएको मतले गठबन्धन उम्मेदवारहरूले निर्वाचन जित्ने आँकलन थियो । निर्वाचनको परिणाम भने त्यस्तो आएन।
गठबन्धन दलका एक नेताका अनुसार मबिन्द्रलाई आफ्नै वडाबाट कम मत आयो । जबकि, भीमले त्यहाँ ‘लिड’ गरिदिए । यहाँ मबिन्द्रलाई कांग्रेसकै धेरै मतदाताले मत नदिएको गठबन्धन दलहरूबीच चर्चा छ ।
र, पराजित हुनुको अर्को कारण भने तुलनात्मक रूपमा एमालेका भीमभन्दा मबिन्द्र कमजोर उम्मेदवार हुन् । हुन त उनी यसअघि सोही वडाको अध्यक्ष थिए । यससँगै पार्टी सङ्गठन सुधार गर्न भन्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मौसमले वार्षिक करोडौँ बजेट यही पालिकामा पठाउँदै आएका छन् ।
निर्वाचनको परिणामले भने बजेट पठाए पनि पार्टीका स्थानीय नेता कार्यकर्ताले सङ्गठन बनाउन नसकेको तथ्य छर्लङ्ग पारेको माओवादीकै एक नेताले बताउँछन् ।
‘मन्त्रीले बजेट ओहिर्याएकै हुन् । तर, साथीहरूले योजना लगेर खै सङ्गठन बनाउन सकेनछन् । जुन कुरा यो निर्वाचनले छर्लङ्ग पार्यो’, ती माओवादी नेताले भने ।
याङ्वरकमा एमालेसँगको हारले कांग्रेस समहामन्त्री आङ्देम्बे, मन्त्री मौसमसँँगै सांसद काम्बाङको गठबन्धनको झण्डा फहराउने चाहना अधुरै भएको छ ।
जबकि, जिल्लाको फिदिम नगरपालिकासहित ७ स्थानीय तहमध्ये हिलिहाङ गाउँपालिकाको उपाध्यक्षबोहकमा गठबन्धनले पालिका नेतृत्वमा एमालेलाई ‘क्लिन स्विप’ गरिदिएको छ ।