जेठ २९, काठमाडौं | दुवै मिर्गौलाले काम नगरेपछि नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गर्न लागिएको छ ।
पूर्वसैनिक अधिकृतसमेत रहेका कटवालका छोरा शुभांगद कटवालका अनुसार मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको छ । ‘बुबाको चाहना नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने छ । त्यसका लागि दाताको खोजी भइरहेको छ,’ छोरा शुभांगदले भने । केही समयअघि मिर्गौलामा समस्या देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकले कटवाललाई मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका हुन् । मिर्गौला प्रत्यारोपण नभएसम्म उनले आवश्यकता अनुसार सातामा दुईदेखि तीनपटकसम्म पनि डायलासिस गराउनुपर्ने हुन्छ ।
पूर्वसेनापति कटवाल हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलासिस गरी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आरामरत छन् ।