माघ २८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो दावी गरेका हुन्।
उनले भने, ‘विकास र सुशासन एक अर्काका परिपूरक हुन्। नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ। भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिवद्धता वर्तमान सरकारले प्राथमिकता राखेको छ। संविधानले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न अख्तियारलाई सरकारले हरप्रकारको सहयोग र समर्थन रहनेछ।’
भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनका लागि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन यही वर्षभित्र संशोधन गर्न प्रयास गर्ने उनले बताए ।