फागुन ३, काठमाडौँ | प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका-२०७७ गलत भएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिकाअनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गरेका हुन् ।
लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ । ७० नम्बरकालाई नै लाइसेन्स दिन मन भए पनि रातो बत्ति बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनुहुँदैन । यदी यस्तै हुने हो भने गाउँमा नागरिकता टोली आउँदाखेरी टेबल राखेर नागरिकता बाँडेको झैँगरी बाँडिदिए भइगयो नि त,' पाण्डेले भने, 'एसईई पास गरेको विद्यार्थीलाई एउटा लाइसेन्स पनि लिएर जाउ सँगसँगै यो सर्टिफिकेट सँगसँगै लिएर जाउ भने भइगयो नि । किन यो ट्रायल गर्नुपर्यो ? किन यो परीक्षा गर्नुपर्यो ?'
निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाइ छ । त्यसो हुनु गलत भएको पाण्डेले बताए । यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजश्व घटाउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परीक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने उनको भनाइ छ ।
‘यो कुराले धेरै कुरामा असर पार्नसक्छ । यसले ४० प्रतिशत राजश्व घटाउँछ । कर्मचारीको तजबिजी अधिकार बढ्छ । परिक्षा गर्दा कर्मचारी र लागत दुवै बढाउँछ । ट्रायल सेन्टर थप्नुपर्ने हुन्छ । राज्यको अरु खर्च बढ्दै जान्छ,' पाण्डेले भने, 'यो कार्यले झन् धेरै दुर्घटना बढाउँछ र नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय क्षेत्रमा अमान्य हुनसक्छ ।’