फागुन ४, काठमाडौँ | राष्ट्रिय सभाका सांसदहरूले संसद्लाई ‘बिजनेश’ नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैली प्रति नै असन्तुष्टि जनाए । बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले बैठक भनेर समय बिताउने मन्त्रीहरूको तौरतरिका ठीक नभएको उल्लेख गरे । सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरूको गम्भीर ध्यानाकर्षण गराए ।
उनले भने, ‘बिहान मन्त्री र सचिव दुई घण्टा बैठक भनेर बसेका छन् । दिउँसो त्यसो गरेपछि त्यत्तिकै बित्छ नि । बेलुका सचिवसँग बसेर भोलिका लागि कामको बारेमा छलफल गरे पो हुन्छ । मन्त्रीहरूको काम गर्नै तौरतरिका एकदम गलत भन्ने मलाई लाग्दछ । संघीयता हामीले ल्यायौं । समितिहरू धेरै भए ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद्लाई ‘बिजनेश’ नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले निजामती कर्मचारी ऐन कहाँ छ ? भनि सरकारलाई प्रश्न समेत गरिन् । सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारिन् ।
उनले भनिन्, ‘निजामती ऐन कता लुकेको छ ? अहिलेको यो सरकारले बिजनेश नै दिएन पार्लियामेन्टलाई । ऐन भटाभट आउनु पर्यो संसद्मा । समिति बस्छन् । त्यस विषयमा छलफल गर्छन् । ऐनकै अभावमा प्रदेश र स्थानीय तहले कानुन बनाएर काम गर्न सकेका छैनन् ।’
सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भीर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरूलाई आग्रह गरिन् । उनले महिला जनप्रतिनिधिहरू संघीयताको भावना अनुसार काम गर्न अझ बढी जिम्मेवार बन्नुपर्ने देखिएको पनि दोहोर्याइन् ।