फागुन ७, काठमाडौँ । शनिबार प्रजातन्त्र दिवस कसरी मनाउने भन्ने विषयमा दलहरू र सरकारले तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहको एक लामो सन्देश सार्वजनिक भयो । प्रजातन्त्र दिवसको शुभकामना दिन उनले जारी गरेको सन्देशमा शुभकामनाभन्दा धेरै वर्तमान नेपालको राजनीतिक प्रणालीमाथि आक्रोश पोखिएको थियो ।
१ फागुनमा झापाको दमकमा दुर्गा प्रसाईंलाई अगाडि सारेर ज्ञानेन्द्रले एक अभियानको उद्घाटन गरे । ६ फागुनमा काठमाडौंबाट शुभकामना सन्देश भन्दै आफ्नो राजनीतिक अभिलाषा प्रकट गरे । हिन्दु धर्मको आडमा राजसंस्था फर्काउने भन्दै प्रसाईंले पूर्वराजपरिवारका सदस्यलाई राखेर 'नागरिक बचाउ' नामको मेची–महाकाली अभियानको सुरु गरेका हुन् । उनको अभियानले इतिहास बनिसकेको राजतन्त्र फेरि फर्किन्छ भन्नेमा आममानिस वा राजनीतिक दलहरूलाई विश्वास नभए पनि ज्ञानेन्द्र स्वयम्लाई भने उत्साहित बनाएको शनिबार उनले जारी गरेको सन्देशबाट झल्किन्छ ।
शुभकामना सन्देशमा ज्ञानेन्द्रले भनेका छन्, ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो देशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर, नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ ।’
उनले मौन रहन सक्दैनौँ भनेर गर्न खोजेको के हो ? स्पष्ट खुलाएका छैनन् । तर, हालैको चुनावबाट हौसिएको भने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आसलाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आकलन गर्न सकिन्छ ।’
राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अपेक्षाकृतभन्दा राम्रो नतिजा ल्याएकोलाई उनले आसलाग्दो नतिजा भनेका हुन सक्छन् । वा अहिलेको भद्रगोल संसद्को गणितले पनि पुनरुत्थानवादीलाई परोक्ष सहयोग पुग्ने आशा उनले देखेका हुन सक्छन् । अहिलेको संसद्मा गणतन्त्र नमान्ने, संघीयता नमान्नेदेखि गणतन्त्र र संघीयताकै लागि भन्दै सशस्त्र हिंसा गरेका राजनीतिक दलहरू छन् ।
चुनावअघिको गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार बनेको छ । त्यो गठबन्धनमा पनि सबै कुरा ठीक चलिरहेको छैन । अथवा अस्थिरताका पर्याप्त संकेतहरू देखिएका छन् । ज्ञानेन्द्रले यसैलाई पनि आशाका रूपमा हेरेका हुन सक्छन् ।
ज्ञानेन्द्रले बेलाबेला यस्ता सन्देशरू जारी गर्दै दलहरूप्रति आक्रोश पोख्दै आएका छन् । शनिबार उनले जारी गरेको सन्देशमा पनि आक्रोश पोखिएको छ । उनले भनेका छन्, ‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदैतेहेरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्रीसमृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन् ।’ उनले लोकतान्त्रिक संघीय गणतन्त्रमाथि नै प्रश्न उठाएर घुमाउरो ढंगबाट राजतन्त्रको वकालत गरेका छन् ।
यसरी दलहरू र वर्तमान राजनीतिक प्रणालीमाथि आक्रोश पोखेका उनले राजनीतिक दलहरूसँग सहकार्यको पनि प्रस्ताव गरेका छन् । उनले भनेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नु हुँदैन ।’ उनले यी राजनीतिक दलबाट फेरि राजतन्त्र फर्किने आशा देखेको उनको प्रस्तावले देखाउँछ ।