फागुन १०, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल यही फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा रहेका छन् ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको दोहा पहिलो विदेश भ्रमण हुने छ ।
फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयका सदस्यले जानकारी दिए ।
सो सम्मेलनमा अल्पविकसित राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुने भएकाले प्रधानमन्त्रीज्यू पनि जाने तयारी छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले बताए ।