फागुन १०, काठमाडौं | निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ।
संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० सांसद गरी कुल ८८१ सदस्यको मतदाता नामावली प्रकाशन गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संविधानअनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेशसभा सदस्यहरूको निर्वाचक मण्डल रहने व्यवस्था छ। जसअनुसार राष्ट्रियसभाका ५९ जना र प्रतिनिधिसभाका ३३१ जना सांसदले चुनावमा भाग लिन पाउनेछन्।
प्रतिनिधिसभामा ३३४ जना सांसद भए पनि निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको मतदाता नामावलीमा प्रतिनिधिसभाका ३३१ जना मात्रै छन्। जसमा नागरिकता विवादका कारण पद गुमाएका चितवन २ बाट निर्वाचित रवि लामिछाने, मनाङबाट निर्वाचित भए पनि भ्रष्टाचार मुद्दा लागेका कारण निलम्बनमा रहेका टेकबहादुर गुरुङ र कैलाली २ बाट निर्वाचित अरुण चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन।
चौधरी १० वर्षमा पुरानाे फौजदारी मुद्दामा दोषी ठहर भइ कारागारमा रहेका कारण उनको नाम मतदाता नामावलीमा समावेश नगरिएको निर्वाचन आयोगले जनाएको छ। तर उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले प्रजातन्त्र दिवसका अवसरमा आममाफी दिइसकेकाले दावी विरोधमार्फत् उनको नाम पनि मतदाता नामावलीमा समावेश हुन सक्ने आयोगले जनाएको छ। त्यसका लागि चौधरीले आफू जेलमुक्त भएको पत्रसहित आयोगमा सूचना दिनुपर्नेछ।
प्रदेशसभातर्फ भने ५५० जनाकै नाम आयोगको सूचीमा समावेश गरिएको छ। संघीय संसद र प्रदेशसभा दुर्वतर्फ गरी ८८१ जनाले राष्ट्रपति चुनावमा भाग लिन पाउने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता नामावलीमाथि शुक्रबार दिउँसो १२ देखि ३ बजेसम्म दाबी विरोध गर्न समय निर्धारण गरिएको छ।