१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डविरूद्ध सर्वोच्चमा दर्ता रिट निवेदनले प्रधानमन्त्रीको पद जान्छ ?

२४ फाल्गुन २०७९, बुधबार ०८:२५

फागुन २४, काठमाडौँ | प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी घटनामा पक्राउ गरी फौजदारी मुद्दा चलाउन माग गरिएको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा दर्ता भयो ।

अदालत प्रशासनले सुरूमा दरपीठ गरेको निवेदनलाई १९ फागुनमा न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले दर्ता गर्न आदेश दिएको थियो ।

तत्कालीन विद्रोही माओवादीबाट मारिएका रामेछापका टीकाराम आरणका छोरा ज्ञानेन्द्रराज आरणसहितले दिएका निवेदन सर्वोच्चले दर्ता गरी २५ गते पेशी तोकेको छ ।

प्रचण्डले १ माघ, २०७६ मा माघीको अवसरमा राजधानीको खुल्लामञ्चमा भएको कार्यक्रममा द्वन्द्व कालमा हत्या भएको १७ हजार सबैको दोष आफूलाई दिन नमिल्ने, त्यसमध्ये ५ हजारको जिम्मा आफूले लिन सक्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालमा व्यक्ति हत्यामा प्रचण्डको संलग्नता रहेको पुष्टि हुने रिट निवेदकको दाबी छ ।

रिट निवेदनले माओवादीहरू आतंकित

रिट निवेदन अदालतमा दर्ता भएसँगै माओवादी केन्द्रसहित पूर्वमाओवादी घटकहरू सबैभन्दा बढी आतंकित देखिएका छन् । शान्ति प्रक्रियापछि विभिन्न टुक्रामा छिन्नभिन्न भएका माओवादी घटकहरू अदालतको आदेशपछि एकजुट भएका छन् । माओवादीलाई अपराधिकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् ।

आइतबार शहीद परिवारले काठमाडौंमा गरेको कार्यक्रमा युद्धकालीन नेताहरू प्रचण्डसहित बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सीपी गजुरेल, धर्मेन्द्र बास्तोलालगाएत नेताहरू एउटै मञ्चमा उभिएर प्रचण्डलाई मुद्दा लगाए कसैलाई बाँकी नछाड्ने धम्की दिए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्वमाओवादी घटकहरूको संयुक्त बैठकले मुद्दाको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आगामी रणनीति र कार्ययोजनाको विषयमा ठोस निष्कर्ष निकाल्न २६ गते विहान पुनः बैठक बोलाएको छ । सर्वोच्चको आदेशप्रति गम्भीर असहमति जनाउँदै माओवादी केन्द्रले कलुषित पूर्वाग्रही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत र नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकूल भएको विज्ञप्तिमार्फत आपत्ति जनाइसकेको छ ।

आइतबार नै बालुवाटारमा बसेको सत्ता साझेदार ९ दलको बैठकले अदालतको आदेश बमोजिम संक्रमणकालीन न्याय सम्बन्धीय विधेयक तत्काल अगाडि बढाउने निर्णय गरेको छ । कानुन संशोधन गरी सत्य निरुपण तथा बेपत्ता छानविन आयोगबाट नै संक्रमणकालीन न्यायलाई टुंग्याउने सहमति गरेका छन् ।

प्रचण्डविरूद्ध रिट निवेदन दर्ता भएकोमा पक्ष/विपक्षमा चर्को बहस सुरू भएको छ । माओवादी विरोधी शक्तिहरूले नैतिकताको आधारमा प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

माओवादी पक्षधरहरूले अदालतमा निवेदन दर्ता भएकै आधारमा प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने जिकिर गरेका छन् । प्रचण्डको पक्ष/ विपक्षमा अहिले राजनीति वृत्त तातिएको छ । कतिपयले प्रधानमन्त्रीलाई अदालतले पक्राउ आदेश जारी गरी फौजदारी अभियोगमा मुद्दामा अनुसन्धान अगाडि बढाउन आदेश दिन सक्ने तर्क गरेका छन् । राष्ट्रपतिको निर्वाचनकै दिन प्रधानमन्त्रीलाई अदालतमा हाजिर हुन आदेश दिएपछि त्यसै दिन प्रचण्ड पदमुक्त हुने हो कि भन्ने धेरैले आशंका गरेका छन् ।

वास्तवमा प्रचण्डविरूद्ध सर्वोच्चमा दर्ता भएको रिट निवेदन के हो ? प्रधानमन्त्रीलाई फौजदारी अभियोगमा पक्राउ गर्न मिल्छ कि मिल्दैन ? २५ गते अदालतले कस्तो आदेश दिन सक्छ ? सरकारको भविष्य के हुन्छ भन्ने विषयमा आम चासो रहेको छ ।

यस्तो छ संवैधानिक र कानुनविदहरूको तर्क

यद्यपि कानुनी र संवैधानिक कोणबाट हेर्दा प्रचण्डविरूद्ध सर्वोच्चमा दर्ता भएको निवेदन सामान्य प्रक्रिया भएको कानुनविद तथा संवैधानिकविदहरूको तर्क छ । द्वन्द्वकालीन मुद्दा दर्ता गर्न प्रहरी प्रशासनले नमानेकाले अदालतको आदेशमार्फत अनुसन्धान अगाडि बढाइ पाउँ भनेर दिएको सामान्य निवेदन भएको कानुन व्यवसायीहरूले बताएका छन् ।

यो फौजदारी मुद्दा नभएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने वा आतंकित हुनु पर्ने कुनै कारण नभएको उनीहरूको भनाइ छ । संविधानविद एवं वरिष्ठ अभिवक्ता डा.भीमार्जुन आचार्यले कानुनी रूपमा सर्वोच्चमा दर्ता भएको रिट निवेदन सामान्य प्रक्रियाको संवैधानिक रिट भएकाले फौजदारी अभियोग भन्न नमिल्ने तर्क गरे ।

‘बाहिर जति हल्ला गरिएको छ, त्यो बेकारको हल्ला हो । सर्वोच्चमा दर्ता भएको रिट सामान्य प्रक्रिया मात्र हो । यसलाई फौजदारी भन्न मिल्दैन’, नेपालवाचसँग उनले भने, ‘अदालतले आवश्यक ठाने बढीमा कारण देखाउ आदेश जारी गर्न सक्छ । रिट निवेदक कर्ताले जितेमात्र बल्ल फौजदारीमा जान सक्छ । अदालतले आवश्यक नठाने रिट खारेज गर्न सक्छ ।’

प्रधानमन्त्रीले रिट निवेदन दिएकै आधारमा नैतिकता देखाएर राजीनामा दिए प्रधानमन्त्रीको स्वविवेकको विषय भएको उनले बताए । फौजदारी अभियोग नभएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने आचार्यको तर्क छ ।

‘नैतिक रूपमा म पद छोड्छु भन्नु उहाँको आफ्नो कुरा हो । अनुसन्धान गरेर फौजदारी अभियोगमा मुद्दा दर्ता भयो भने मात्र पद निलम्बन हुन्छ । अहिले प्रक्रिया नै प्रारम्भ भएको छैन । अभियोजन कर्ताले प्रहरीले मुद्दा दर्ता गर्न मानेन अदालतको परमादेशबाट अनुसन्धान गरी पक्राउ गरी पाउँ भनेको हो । अहिलेसम्म अदालतको अभ्यास हेर्दा सिधै पक्राउ गर्न आदेश दिएको मेरो जानकारीमा छैन’, उनले भने । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको तर्क पनि आचार्यसँग मिल्दोजुल्दो रहेको छ ।

सर्वोच्चमा रिट निवेदन दिएको भरमा माओवादी आतंकित हुनुपर्ने अवस्था नभएको उनको भनाइ छ । कानुनी भाषामा यो सामान्य प्रक्रिया भएकाले प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने तर्क गरे । ‘रिट निवेदन दर्ता भएपछि एकल इजलासमा जान्छ । इजलासले उपयुक्त देख्यो भने कारण देखाउ आदेश जारी हुन्छ । उपयुक्त नदेखे रिट खारेज हुन्छ’, उनले भने, ‘विपक्षीको नाममा कारण देखाउ आदेश जारी भयो भने नियमित प्रक्रियामा जान्छ । यो भनेको एक/दुई वर्षपछिको कुरा हो । यो कुनै ठूलो कुरा होइन । विल्कुल सामान्य, स्वभाविक प्रक्रिया हो ।’

यसलाई अनावश्यक महत्व र चर्चाको विषय बनाइएको छ भट्टराईले असन्तुष्ट पोखे । तत्काल अदालतबाट केही हुने अवस्था नभएको भन्दै उनले अदालतसँग माओवादी डराउनु पर्ने अवस्था नभएको तर्क गरे । ‘माओवादीले यसलाई रणनीतिक चालको रूपमा प्रयोग गर्न सक्छन् । यसैलाई कारण देखाएर पूर्वमाओवादीहरू एक ठाउँमा आउन सक्छन् । डराउने वा आतंकित हुने अवस्था छैन । उहाँहरू द्वन्द्व पीडितको आवाजसँग डराउनु पर्छ, अदालतसँग होइन’, भट्टराईले भने ।

द्वन्द्व समाधानका लागि कानुन पास भएर सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको खण्डमा यो विषय अदालतको क्षेत्राधिकारभित्र नपर्ने तर आयोगले काम गरेन भने अदालतले आफ्नो निर्णय लिन सक्ने उनले बताए । अधिवक्ता सुनिलकुमार पोखरेलले पनि रिट निवेदन सामान्य प्रक्रिया भएकाले प्रधानमन्त्री आत्तिनु नपर्ने बताए ।

‘अहिले फौजदारी मुद्दा लाग्दैन । रिट निवेदन अदालतले खारेज नगरे कारण देखाउ आदेश जारी हुनेछ । त्यसैले यो मुद्दा वर्षौं जान्छ । प्रचण्डले मान्छे मारेको विषयमा अदालतले प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएको खण्डमा मात्र अनुसन्धन अघि बढ्छ । अनुसन्धानपछि कर्तब्यज्यान सम्बन्धी मुद्दा भएको ठहर गरी प्रहरीले अदालतमा मुद्दा दायर गरेमात्र प्रधानमन्त्री निलम्बित हुनुहुन्छ’, उनले भने ।

अधिवक्ता पोखरेलले यो मुद्दा फौजदारी मुद्दा नभएकाले प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने जिकिर गरे । सामान्य कानुनी प्रक्रियासमेत माओवादीले नबुझेकोमा उनले आश्चर्य प्रकट गरे । ‘२०७१ को साउनमा कल्याण श्रेष्ठले गरेको फैसला माओवादीले बिर्सियो । यो भन्दा कडा त्यो फैसला छ । माओवादी किन डराको हो मैले बुझेको छैन’, उनले भने ।

अदालतले रिट निवेदन खारेज गरेको खण्डमा च्याप्टर नै बन्न हुने नभए व्यक्ति हत्या मुद्दामा पूर्वसभामुख अग्नि सापकोटाको जस्तै अनुसन्धान गर्न प्रहरीलाई आदेश दिन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस