पौडेल राष्ट्रपति बनेपछि तनहुँ-१ मा उपनिर्वाचन, को-को छन् कांग्रेसबाट दाबेदार?

Posted on: 13 Mar, 2023

फागुन २९, काठमाडौँ | रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहु क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेस र अन्य दलले अहिले देखि नै उम्मेदवार चयनको तयारी थालिसकेका छन् । चाँडै नै उक्त क्षेत्रमा चुनाव हुने भएको छ ।

चुनावमा उम्मेदवार बन्न नेपाली काँग्रेसबाट आकांक्षी धेरै देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गोविन्द भट्टराई, नेपाली कांग्रेस महासमिति सदस्य रामचन्द्र पोखरेल र नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई उम्मेदवारको आकांक्षी देखिएका छन् । तर, सबैभन्दा सम्भावना नेविसंघका पूर्व अध्यक्ष समेत रहेका गोविन्द भट्टराईको रहेको बुझिएको छ । उनलाई सभापति शेरबहादुर देउवाले तयारीमा लाग्न भनिसकेको बुझिएको छ ।


सो क्षेत्र गत निर्वाचनका संसदमा प्रत्यक्ष तर्फका उम्मेदवारका आकांक्षी गोविन्द भट्टराईको नाम पौडेल चुनावमा उठ्ने भएपछि समानुपातिकका राखिएको थियो । तर उनले समानुपातिकमा नबस्ने भन्दै निर्वाचन आयोगमा निवेदन नै दिएर फिर्ता लिएका थिए । पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने आठ दलिय गठबन्धनको निर्णयसँगै भट्टराई सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगे । सोही क्रममा देउवाले भट्टराईलाई ढुक्क हुन आश्वासन दिएका थिए ।

यतिबेला पौडेल निकट मानिने नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई पनि आकांक्षीको रुपमा अघि सरेका छन् । विद्यार्थी नेता दीपक भट्टराई प्रदेश सभा सदस्यमा चुनाव लड्ने तयारी गरेपनि टिकट पाएनन् ।

त्यस्तै, कांग्रेस महासमिति सदस्य रामचन्द्र पोखरेलले पनि रिक्त स्थानमा उम्मेदवारका लागि आफू योग्य रहेको दाबी गरेका छन् ।

निर्वाचन आयोगले सबै रिक्त क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । कांग्रेसभित्र उम्मेदवार बन्ने तछाडमछाड भइरहँदा सो क्षेत्रमा विजयी पौडेलको ठाउँमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी रहेको चर्चा पनि छ । तर, भट्टराई निकटस्थ एक नेताले उनी तनहुँमा उम्मेदवार नबन्ने जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!