अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु

Posted on: 14 Jun, 2023

जेठ ३१, तनहुँ | व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र  उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो । 

चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिर्पोट आएपछि छलफल गर्ने सहमति भएको मृतककी हजुरबुबा चीजबहादुर दरैले जानकारी दिनुभयो । 

भोलि पोष्टमार्टमको रिर्पोट आउँछ, त्यसपछि उपचारमा सङ्लग्न चिकित्सक दोषी ठहरिए कानुनी कारबाही अघि बढ्छ । मृतकका आफन्तजनले अझै शब बुझ्न नमानेको उहाँले बताउनुभयो । घट्ना पश्चात पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुबैलाई बचाउन हरपल प्रयत्न गरेपनि बचाउन नसकेको बताएको हजुरबुबा चिजबहादुरले जानकारी दिनुभयो । 

छलफलका क्रममा सुत्केरीको पानीको पोको फुटेपछि रगतसँग घुलेर शरीरका अन्य भागमा पुगेकाले दुबै जनालाई बचाउन नसकिएको चिकित्सकको भनाइ उदृत गर्दै उहाँले उल्लेख गर्नुभयोे । चिकित्सकले उपचार पद्धतिअनुरुप नै उपचार गरेको र गल्ती कही पनि नगरेको भन्दै स्वीकार गरे पनि आमा र शिशु दुबैको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको अनुमान गरेका हौ । हजुरबुबा चीजबहादुरले भन्नुभयो,  “छानबिनको लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!