बाढी पहिरो अपडेट : ९ जनाको मृत्यु हुँदा २७ बेपत्ता, २३ वटा हाइड्रो र १५ वटा सडक अवरुद्ध

Posted on: 21 Jun, 2023

असार ६, काठमाडौँ | कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आएको बाढी र पहिरोको कारण अर्बौँ रुपैयाँको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ र सङ्खुवासभा सभामा गएको शनिवार रातीदेखि आएको बाढी पहिरोको कारण सबै भन्दा बढी जल विद्युत् आयोजनामा क्षति पुगेको छ ।

यस्तै पुल र सडकहरूमा समेत क्षति पुगेको छ ।

हेवाँ, पिलुवा लगायतका खोलामा आएको बाढीका कारण १५ वटा मझौला र लगूँ जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

बाढी र पहिरोको कारण पाँचथरमा ५, सङ्खुवासभामा ८ र ताप्लेजुङमा २ वटा जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति भएको छ ।

पाँचथर फिदिम नगरपालिका ११ मा रहेको १४ मेगावाटको माउन्टेन बि र वडा नम्बर १० मा रहेको २१ मेघा वाटको माउन्टेन ए जलविद्युत आयोजना बाढीका कारण पूर्ण रूपमा क्षति भएको छ ।

यस्तै पाँचथरको याङ्वराक ४ मा रहेको रोइराङ् जलविद्युत आयोजनाको ड्याम पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै पाँचथरको याङ्वरक ४ मा रहेको इवा खोला हाइड्रो पावरमा पनि पूर्ण रूपले क्षति पुगेको छ । अविरल वर्षका कारण अहिले पनि हाइड्रोमा पुगेको क्षतिको यकिन विवरण सङ्कलन भई नसकेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले बताए ।

बाढी र पहिरोका कारण ताप्लेजुङको सिरी जङ्गा गाउँपालिका याम्फुदिनमा रहेको तुमिया खोला जलविद्युत आयोजना, मेरिङदेन गाउँपालिका ५ मा रहेको युनाइटेड जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको छ ।

बाढीले सङ्खुवासभाको चैनपुर ४ मा निर्मणधिन सुपर हेवा हाइड्रो, चैनपुर २ तिखि ढुङ्गामा रहेको मेन्छेयाम जलविद्युत आयोजना, चैनपुर ७ पिलुवा खोलामा रहेको अरुण भ्याल्ली हाइड्रोमा क्षति पुगेको छ ।

यस्तै धर्मदेवी नगरपालिका वडा नम्बर ४ गैरीगाँउ खहरे स्थित माया खोला हाइड्रो, धर्मदेवी४,६र ७को बिचमा पर्ने डाउन पिलुवा हाइड्रो, चैनपुर ७ मा रहेको शुभम् पावर ९ लोर पिलुवा० जलविद्युत आयोजनामा पनि बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।

बाढी र पहिरोले मादी नगरपालिका ७,८,९को बिचमा पर्ने अपर पिलुवा हाइड्रो र स्थित, पाँचखपन नगरपालिका वडा नम्बर ८कोकले बेसीमा रहेको वरुण हाइड्रो पावर कम्पनीमा पूर्ण रूपले क्षति पुगेको सङ्खुवासभा सभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

९ जनाको मृत्यु २७ जना बेपत्ता

बाढी र पहिरोका कारण अहिले सम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढी र पहिरोबाट घाइते भएका ६ जना मध्ये ५ जनाको डिस्चार्ज भएको छ भने एक जनाको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा पाँचथरमा ३ जना, ताप्लेजुङमा ३ जना र सङ्खुवासभा २ जना र भोजपुरका १ जना रहेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर टेम्केमैयु गाउँपालिकाका ३२ वर्षीय मन्दिप राई, सङ्खुवासभा पाँचखपन ९ का सन्तोष राई पाँचथर फलेलुंग ४ की जुना मादेन, फिदिम ११ का सन्जोग लिम्बु, सोही ठाउँकी एलिशा माझी रहेका छन् ।

पहिरोका कारण ताप्लेजुङ सिदिङ्वा ६ का गणेश तामाङ,सोही ठाउँका केशर राई र सुरेश राई रहेका छन् ।

सुरेश र केशर भने बाबु छोरा रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । सङ्खुवासभाको चैनपुरमा भेटिएको लासको भने पहिचान खुल्न सकेको छैन । घाइते भएका ६ जना मध्ये एक जनाको मात्रै उपचार भइरहेको छ । ताप्लेजुङ सिदिङ्वा मेहलेका राजकुमार राईको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

४३९ परिवार विस्थापित

बाढी र पहिरोका कारण अहिले सम्म कोशी प्रदेशका पहाडी र हिमाली जिल्लामा ४ सय ३९ परिवार विस्थापित भएका छन् । पहिरोका कारण सबै भन्दा बढी पाँचथरमा ३४१ परिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

बाढी र पहिरोका कारण ताप्लेजुङमा ८० परिवार र सङ्खुवासभामा १८ परिवार विस्थापित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीका प्रवक्ता अर्जुन निरौलाले बताए । उनले क्षतिको विवरण सङ्कलन भइरहेकाले विस्थापित परिवारको सङ्ख्या बढ्न सक्ने बताए ।

अहिले सम्म सङ्खुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका ६, र इलामका ३ वाट गरी ४३ वटा घरमा पूर्ण क्षति भएको छ ।

प्रहरीले पाँचथरका २३ घर परिवारका ९५ जना, ताप्लेजुङका ११ घर परिवारका ३८ जनाको उद्धार गरी सुरक्षित स्थानमा लगेको छ ।

घर जोखिममा परि विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको निरौलाले बताए । उनका अनुसार पहिरोका कारण घर नभत्किए पनि जोखिम रहेकाले अन्यत्र सार्ने तयारी भइरहेको छ ।

२३ वटा पुलमा क्षति, १५ वटा सडक अवरुद्ध

मेची राजमार्ग सहित कोशी प्रदेशका १५ वटा साना ठुला सडक अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण सबै भन्दा बढी पाँचथरमा ७ वटा सडक अवरुद्ध भएको छ । पहिरोका कारण ताप्लेजुङमा ४, इलाममा १, र सङ्खुवासभामा ३ वटा सडक अवरुद्ध छ ।

मेची राजमार्ग भने मर्मत पछि आंशिक रूपमा सुचारु भएको छ । बाढी र पहिरोका कारण २३ वटा पुलमा क्षति पुगेको पाँचथरमा १५ वटा सङ्खुवासभा सभामा ६ र ताप्लेजुङमा २ वटा पुलमा क्षति पुगेको हो ।

ती मध्ये १० वटा पक्की र मोटरेवल पुल रहेका छन् । बाढीले ७ वटा झोलुङ्गे पुल र ६ वटा ट्रस र बेली ब्रिज बगाएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!