घरधनीले घर भत्काउन अटेर गरेपछि इटहरीमा प्रहरी लगाएर चलाइयो डोजर

Posted on: 23 Jun, 2023

असार ८, इटहरी | ६ लेन सडक क्षेत्रमा पर्ने घर भत्काउन आलटाल गरेपछि इटहरी उपमहानगरले डोजर चलाएको छ । इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो ।

रानी-विराटनगर-इटहरी-धरान सडक आयोजनाअन्तर्गत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले शुक्रबार बिहान दोस्रो पटक डोजर चलाएको हो । यसअघि उपमहानगरले गत माघ महिनामा विराटनगर लाइनमा पर्ने वडा नम्बर ६ का ३४ वटा घर भत्काएको थियो । वडा नम्बर ९ का एक दर्जनबढी घर भत्काएपनि केही घरधनीले अटेर गर्दै आएका थिए । पटक-पटक आग्रह गर्दा पनि ९ नम्बर वार्डका केही घरधनीले घर नभत्काएपछि बल प्रयोग गरेर भत्काउन सुरु गरिएको मेयर पौडेलले बताए ।

ती घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ पूर्णरुपमा सडक विस्तार हुन सकेको छैन । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र इटहरी ९ स्थित विराटनगर लाइनमा भने केही स्थानीयको अवरोधले सडक विस्तारको काम बाकी नै छ ।

पौडेलले सडक क्षेत्रभित्रका संरचना निरन्तर भत्काउँदै जाने बताए । विकासको काममा विरोध नगरौं भनेर सबै घरवालालाई सम्झाए पनि केहीले समय मागेर पनि अटेर गरेपछि डोजर चलाएको बताए । पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । २०६९/०७० बाट सुरू भएर सात वर्षभित्रमा ६ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको भएपनि स्थानीयको अवरोधले काममा ढिलाइ भएको आयोजनाको भनाइ छ । सुरूवातमा पूरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!