बागमती प्रदेशसभा : प्रतिपक्षीको अवरोध हट्यो, बजेटमाथिको छलफल सुरु

Posted on: 03 Jul, 2023

असार १८, बागमती  | बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरूको अवरोध हटेको छ । निरन्तर रूपमा प्रतिपक्ष दलहरूको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजे सञ्चालन भएको हो ।  

बजेटमा रहेका कमीकमजोरी सुधार गरेर समावेशी र न्यायोचित रूपमा कार्यक्रहरु समावेश गर्ने सरकारको प्रतिबद्धतासँगै प्रतिपक्षी दलहरूको अवरोध हटाएका हुन् । असार १२ गतेदेखि प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्षी दल राप्रपाले अवरोध गर्दै आएका थिए । एमाले र राप्रपाका सांसदहरुको निरन्तर अवरोधका कारण प्रदेशसभाको बैठक पटक पटक आह्वान हुँदै अवरुद्ध बन्दै आएको थियो ।

सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गर्ने भएपछि बस्न सकिएको थिएन ।  

बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालय हेटौँडाले सूचना टाँस गरेर दिउँसो २ बजेका लागि पुनः आह्वान गरिएको थियो । उक्त बैठकअघि बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच सहमति भएसँगै सदन सुचारु भएको हो ।

बैठकमा प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । बजेटमाथिको छलफलमा भाग लिँदै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, नेमकीपाकी सांसद सृजना सायजूले आफ्नो धारणा राखेका थिए ।

एमाले संसदीय दलका नेता थपलियाले प्रदेश सरकारले  विभेदकारी, अव्यवहारिक ढंगबाट राजनीतिक स्वार्थ पूर्तिका लागि बजेट ल्याइएको भन्दै  ३ दिनदेखि संसद्लाई अवरुद्ध गर्नु बाध्यता रहेको बताए । प्रतिपक्षहरुले उठाएका योजनालाई क्रमशः सरकारले बजेट पुस्तिकामा समावेश गरी कार्यान्वयन गर्दै जाने सरकारको प्रतिबद्धता प्रतिपक्ष दलसँग सहमत भएको उनले बताए । सरकारले बजेट पारित गर्ने समयसम्म बजेटमा प्रतिपक्षको सुझाव नसमेटेको खण्डमा थप सशक्त रूपमा अघि बढ्ने उनले चेतावनी समेत दिए ।

राप्रपा संसदीय दलका नेता थापाले सांसदलाई नियमित सञ्चालन गरी बजेटलाई पारित गर्नुपर्ने बाध्यताका कारण संसद्को अवरोध हटेको बताए । उनले बजेट विभेदकारी देखिएकोले प्रतिपक्षी दलहरूको सुझाव अनुसारको योजना बजेटमा समेटेर कार्यान्वयनमा जान सरकारलाई आग्रह गरे । आवश्यकता अनुसार कार्यक्रम र योजना थपघट गरी बजेट संशोधन गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । सरकारले प्रतिपक्षी दलहरूसँग गरेको सहमति अनुसार कार्यान्वयन पक्षलाई दरिलो बनाउनु पर्नेमा उनले जोड दिए ।


नेमकीपाका सांसद सायजूले सरकारले ल्याएको बजेटलाई सन्तुलित र परिपक्क ढंगबाट सार्वजनिक हुन नसकेको बताइन् । बजेटप्रति उनले चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले जनताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाइन् । सरकार दलगत स्वार्थको लागि मात्रै केन्द्रित रहेको र बजेटले जनतालाई भरोसा दिन नसक्ने अवस्थामा पुगेको उनको भनाई छ । सरकारले विगतका बजेटहरूलाई समीक्षा गरेर कार्यक्रमहरू तयार गर्नुपर्ने उनले बताइन् ।

उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाएका जिज्ञासाहरूको उत्तर दिएका थिए ।

बैठकमा बोल्दै मन्त्री लामाले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेटलाई सन्तुलित र समानुपातिक एवम् व्यवहारिक रूपमा कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेट प्रस्तुतको क्रममा केही कमीकमजोरी र अव्यवहारिक पक्षलाई आत्मसमिक्षा गरेर प्रतिपक्ष दलहरूले उठाएको मागहरुलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । केही समयभित्रै ती माग गरिएको योजनाहरुलाई बजेटको किताबमा समावेश गरिने उनको भनाई छ ।

मन्त्री लामाले बजेट प्रभावकारी कार्यान्वयन गर्दै आगामी वर्षमा गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा उत्पादन वृद्धि गर्ने, प्रदेशको अस्पतालहरुलाई स्तरोन्नती गरी अगाडि बढाउने बताए । प्रदेश सरकार दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशको राष्ट्रिय गौरवको आयोजना एवम् विपन्न जनताहरुलाई आर्थिक आत्मनिर्भर तुल्याउने र भौतिक पूर्वाधारको विकासलाई सहजीकरण गर्ने, प्रदेशको समानुपातिक विकासका लागि योजनाको बाँडफाँट गर्ने लगायउतका लक्ष्य सरकारले लिएको उनले बताए ।

प्रदेशका मन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गरेका थिए । उक्त प्रस्ताव पेश भएसँगै सभामुख भुवन कुमार पाठकले बैठक स्थगन भएको जानकारी गराए । प्रदेशसभाको अर्को बैठक असार १९ गते मंगलबार अपराह्न ३ बजे बस्ने गरी सभामुख पाठकले स्थगित गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!