चितवनमा ३९ जनाले लिए अङ्गीकृत नागरिकता

Posted on: 19 Jul, 2023

साउन ३, चितवन | जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् ।     

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए । सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए ।    

कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन् । गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन् । कार्यालयले रु १३ करोड ३३ लाख २२ हजार एक सय नौ राजस्व सङ्कलन गरेको उनले बताए । सबैभन्दा धेरै राहदानीबाट रु १३ करोड सात लाख ९० हजार सङ्कलन भएको छ ।      

यस्तै प्रशासनिक दण्ड जरिवानाबाट रु छ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत रु १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत रु चार लाख ४२ हजार तथा बेरुजुबापत रु नौ हजार सङ्कलन भएको न्यौपानेले जानकारी दिए ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!