साउन ४, काठमाडौं । नेपालमाअवैध तरिकाले भित्रिएको ठूलो परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्।
मंगलबार राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो।
क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शुभित्र सुन राखेर भित्र्याएको पाइएको हो।
सुन अन्दाजी ८० देखि १०० किलो हुनसक्ने अनुमान छ। पक्राउ पर्नेमा दोलखाका रामकुमार भुजेल, दीलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ छन्।
एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका छन्।
विभागले बा २ च २३२४ नम्बरको ट्याक्सी पनि बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ।
समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ।
भन्सार जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी समेत गरेको छ।