इटहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक गम्भीर घाइते

Posted on: 22 Jul, 2023

साउन ६, सुनसरी | सुनसरीको इटहरीमा भारतीय पिकअप भ्यानसँग मोटरसाइकल ठोक्किएर तीनजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा इटहरी नगरपालिका वडा नम्बर १६ का अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।

गएराति इटहरी नगरपालिका वडा नम्बर १७ को कान्छी चोकमा चारजना सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भारतीय पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा तीनजनाको मृत्यु भएको र गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको उपचार भइरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ। पिकअप चालक भारत दार्जिलिङ निवासी गोविन्द वरमुन प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!