दाङमा आफन्तलाई हेल्मेटले हानेर महिलामाथि सामूहिक बलात्कार प्रयास, गाउँलेले बचाए

Posted on: 28 Jul, 2023

साउन १२, दाङ । तुलसीपुरकी रमिता खत्री(परिवर्तित नाम) बुधबार बेलुकी दाइ नाता पर्नेसँग जसपुर आफन्तको घरबाट फर्कँदै थिइन् । बेलुकीको करिब पौने ७ बजे तुलसीपुर १२ गुहार खोला किनारमा थकाई मार्न बसिरहेका थिए ।

यत्तिकैमा ३ जना युवा आएर उनीसँगै रहेका आफन्तलाई हेल्मेटले टाउकोमा प्रहार गर्दै बन्धक बनाए । अनि महिलालाई अलिपर झाडीमा लगेर निबस्त्र बनाई बलात्कार गर्ने प्रयास गरे । तीनै जनाले पालैपालो बलात्कार गर्ने प्रयास गरेपछि महिला चिच्याउँदै हारगुहार गरिन् ।

महिला चिच्याएको आवाज सुनेपछि गाउँलेले बलात्कार हुनबाट बचाए । गाउँले आउनुपुर्व नै उनीहरूले महिलाको साथबाट सुनको सिक्री र मोबाइल लुटिसकेका थिए । महिलालाई बलात्कार हुनबाट जोगाएका गाउँलेले घटना संलग्न भएका तिकल चौधरी, अबिशेक परियार र दुर्गा केसीलाई प्रहरीको जिम्मा लगाएको स्थानीय टोपबहादुर बुढाथोकीले जानकारी दिए ।

इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक पर्वत केसीका अनुसार पक्राउ परेकाहरू २० देखि २५ वर्ष उमेर समुहका छन् । बुधवार बेलुकीको घटना भएपनि आज मात्रै किटानी जाहेरी परेकाले सामूहिक बलात्कार प्रयास र डाँकाचोरी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि दाङ जिल्ला अदालत घोराही लगिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!