दमकका प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमै अनैतिक काम गरेको भिडियो सार्वजनिक, प्रमाण मेटाउन रंगरोगन

Posted on: 30 Jul, 2023

साउन १४, झापा । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ । 

निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लट्ठ रहेको देखिन्छ । रक्सीले टिल भएकी महिला निरौलाको क्वाटरभित्रैबाट टिकटक लाइभमा बसेकी थिइन् । उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ । उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ । यद्यपि, उनीहरु पतिपत्नी होइनन् ।


दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबु हुन् । उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव हुन् । भिडिओकी महिला भने डिभोर्सी भएको बुझिएको छ । स्रोतका अनुसार उनी स्थानीय एक व्यवसायीको पूर्व पत्न्नी हुन् ।

निरौलाले भने यो भिडियो काठमाडौँको भएको दाबी गरेका छन् । काठमाडौँमा जन्मदिन मनाउँदाको भिडियो भएको दाबी गर्दै उनले धेरै जना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अचम्मित रहेको जिकिर गरे ।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । भिडियोले दमक नगरपालिकाकै बदनाम भएको उनको भनाइ छ । प्रशासकीय अधिकृतकी श्रीमतीसहित परिवार भने काठमाडौँमा बस्दै आएको बताइएको छ ।

यसैबीच भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । उनले नगरपालिका परिसरमा रहेको क्वाटरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् ।

घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वाटरस्थित बेडरुमको रंग परिवर्तन गरेको स्रोतले बतायो । पहिलेको हरियो रंग बदलेर उनले पहेँलो रंग दल्न लगाएका छन् । निरौलाले भने क्वार्टरभित्र बेडरुमको रंगरोगन गर्नु संयोग मात्र भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!