भोलिदेखि मनसुनी गतिविधि थप सक्रिय हुँदै, बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन आग्रह

Posted on: 11 Aug, 2023

साउन २६, काठमाडौँ | देशका अधिकांश भू–भागमा शनिबार (भोलिदेखि) मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । भारतको विहारको उत्तर–पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । आगामी केही दिनसम्म मनसुनको न्यूनचापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । यसका कारण मनसुनी गतिविधि थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

शनिबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको हुनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती  प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

“शनिबारदेखि सोमबारसम्म पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ,” विभागले भनेको छ, “ठूला तथा साना नदी,नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्नेछ ।” बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!