क्लिनिकले गर्भपतन गराउन जथाभावी औषधि दिएपछि धनगढीकी एक महिलाको मृत्यु

Posted on: 11 Aug, 2023

साउन २६, काठमाडौँ | क्लिनिकले गर्भपतन गराउन जथाभावी औषधि दिएपछि धनगढीकी एक महिलाको मृत्यु भएको छ। 

मेरी स्टोप सामुदायिक क्लिनिक धनगढीमा गर्भपतन गराउन पुगेकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनका आफन्तले क्लिनिक सञ्चालकले जथाभावी औषधी दिएकोले प्रितिको मृत्यु भएको आरोप लगाएका छन्।

मृतकका आफन्तका अनुसार बिहीबार दिउँसो गर्भपतन गराउन औषधी खाएपछि प्रितिको अत्यधिक रगत बगेको थियो। क्लिनिकमा औषधि दिए पनि उपचार गर्न नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले जानकारी दिए।

मृतक महिलाका परिवार र आफन्तले क्लिनिक सञ्चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै नाराबाजी गरेका थिए। उनीहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेर क्लिनिक सञ्चालकले प्रितिको हत्या गरेको भन्दै आजिवन सजाय र क्षतिपूर्तिको माग गरे।

प्रहरीले घटनाको अनुसन्धान गर्दा गर्भपतन गराउन क्लिनिक सञ्चालकले दिएको औषधि सेवनबाट महिलाको मृत्यु भएको देखिएपछि क्लिनिक सञ्चालक २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार सोही घटनामा उनकी पत्नी समेतको संलग्नता रहेको छ। उनकी २२ वर्षीया पत्नी आयुशा ओझा भने फरार छिन्।

मृतक महिलाका परिवारले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!