अझ तीन दिन देशभरमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

Posted on: 12 Aug, 2023

साउन २७, काठमाडौँ | मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकोले आगामी तीन दिनसम्म देशको धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । केही भूभागमा आज अति भारी वर्षाको पनि सम्भावना रहेको छ । सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही वाग्मती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर पूर्ण बदली रहने जनाएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको सम्भावना रहेको विभागको भनाइ छ । दैनिक जनजीवन, जनस्वास्थ्य, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले आवश्यक सतर्क रहन आग्रह गरेको छ ।

आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!