जेठी नालामा डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला

Posted on: 12 Aug, 2023

साउन २७, बाँके | बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए ।

बेपत्ता भएको स्थानबाट करिब 200 मिटर तल रहेको पीबीसी इँटाभट्टा नजिक नालामा गएराति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए ।

सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकालेका थिए । शव शुक्रबार नै भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि ल्याइएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक बेल्बासेले बताए ।

जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार खोलामा बाढी आएको समयमा पौडी खेल्दा बेपत्ता भएको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दलकृष्ण सुनारले जानकारी दिए ।

लगातारको बर्सातले बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा बग्ने जेठी नाला, किरण नाला र पेडारी नालामा बाढी आएको छ । बर्सातमा बाढी आउने खोला नाला, पोखरी, पानी जमेको ठाउँमा दुर्घटना हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!