तीनकुनेस्थित गैह्रीगाउँ हत्या प्रकरण : दीपेन्द्रसँगै थप तीन जना पक्राउ

Posted on: 16 Sep, 2023

भदौ ३०, काठमाडौँ | काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । दिपेन्द्र मृतक नवीन राईका साथी रहेको प्रारम्भिकरूपमा खुल्न आएको प्रहरीले जनाएको छ । दिपेन्द्र शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा आत्मसमर्पण गर्न आएको एक अनुसन्धान अधिकृतले बताएका छन् । उनीसँगै घटनामा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

टाउ र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको हत्या भएको हो ।

वीभत्सरुपमा गरिएको हत्याको कारण खुलिसकेको छैन । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा घटना अनुसन्धानकै चरणमा रहेकाले सबै कोणबाट अनुसन्धान गरिरहेको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!