मेस्सीको नाम लिएपछि यसरी जोगियो ९० वर्षीया हजुरआमाको ज्यान

Posted on: 08 Mar, 2024

फागुन २५, काठमाडौँ | इजरायलमा मेस्सीको नामसँग जोडिएको एउटा रमाइलो घटना भएको छ । इजरायल र प्यालेस्टाइनले लामो समयदेखि एकअर्कामाथि आक्रमण गर्दै आएका छन् । 

इजरायलको किबुट्ज निर ओजमा भएको एक घटनामा मेस्सीको नामका कारण एक यहुदी–अर्जेन्टिनी हजुरआमाको ज्यान जोगिएको छ । त्यो घटनाको विषयमा अहिले आएर ती हजुरआमाले आफ्नो अनुभव सार्वजनिक गरेकी छन् ।  

९० वर्षीया ती हजुरआमाको नाम एस्टर कुनियो हो । उनका अनुसार, घटना गत अक्टोबर ७ ताखिरको हो । त्यो दिन कुनियोको घरमा सशस्त्र आक्रमणकारीले हमला गरे । त्यतिबेला कुनियोको घरमा परिवारका अन्य सदस्य पनि उपस्थित थिए ।


बन्दुकधारीहरुले कुनियोको परिचय माग गरे । खासमा बन्दुकधारीहरु कुनियो र उनको परिवारमाथि भौतिक कारवाही गर्ने योजनामा थिए । त्यसका लागि नै उनीहरु कुनियोकासँग विभिन्न वाहाना बनाएर केरकार गरिरहेका थिए ।  

तर, हजुरआमा कुनियोलाई स्थानीय भाषा र हिब्रु भाषा पनि राम्ररी बोल्न आउँदैन थियो । सञ्चारकर्मीसँगको कुराकानीमा कुनियो भन्छिन्, ‘म उनीहरुको भाषा बुझिरहेकी थिइन् । त्यसैले मैले आक्रमणकारीलाई आफू उनीहरुको स्थानीय भाषा र हिब्रु भाषाबाट पनि अनभिज्ञँ रहेको बताएँ । तर, उनीहरुले पनि मेरो भाषा बुझेनन् । खासमा म अर्जेन्टिनी र स्पेनिस भाषामात्र बुझ्थेँ ।’

दुबै पक्षबिच भाषाको समस्या भएपछि हजुरआमाले आक्रमणकारीलाई आफ्नो कुरा बुझाउने एउटा जुक्ति झिकिन् । उनी भन्छिन्, ‘मैले उनीहरुलाई आफू अर्जेन्टिनाबाट आएको बताएँ । त्यसपछि उनीहरुले अर्जेन्टिना भनेको के हो ? भनेर मसँग सोधे । केही सिप नलागेपछि मैले आक्रमणकारीहरुसँग लियोनल मेस्सीको नाम लिएँ । मैले उनीहरुलाई म मेस्सीको देशबाट आएकी हुँ भनेर भनेँ ।’

सञ्चारकर्मीसँग त्यसपछिको घटना सुनाउँदा हजुरआमा कुनियो निकै खुशी देखिन्छिन् । ‘मेस्सीको नाम लिनासाथ चमत्कार भयो । निकै रुखो भाषमा हामीसँग केरकार गरिरहेका आक्रमणकारीहरु एकाएक नरम भए । उनीहरु छक्क पनि परे । उनीहरुले मेस्सी आफ्नो सबैभन्दा प्रिय खेलाडी भएको बताए । त्यसपछि आक्रमणकारीमध्ये एकले मेरो काँधमा आफ्नो हात राख्यो । उसले आफ्नो बन्दुक पनि मलाई दियो । उनीहरुलाई मलाई शान्तिको चिन्ह बनाउन लगाए । मसँग तस्बिर पनि खिचाए । त्यसपछि मलाई लाग्यो, अब भने म र मेरो परिवारको जीवन जोगिने छ,’ कनियो भन्छिन् ।

हजुरआमा कुनियोले यसका लागि मेस्सीलाई हृदयदेखि आभार पनि ब्यक्त गरेकी छन् । ‘म यो कुरा मेस्सीसम्म पनि पुगोस् भन्ने चाहन्छु । आज उनकै कारणले हाम्रो जीवन जोगिएको छ । म मेस्सीसँग अर्को अनुरोध पनि गर्न चाहन्छु । मेरा नाति–नातिनाहरु पनि यसअघि नै अपहरणमा परेका छन् । उनीहरुको नाम डेभिड र एरियल हो । प्रिय मेस्सी, कृपया तिमी आक्रमणकारीहरुलाई मेरा नाति–नातिनाको रिहाइका लागि अनुरोध गरिदेउ न,’ निकै भावुक देखिएकी कुनियोले भनेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!