२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा विवाह गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद

१९ पुष २०७३, मंगलवार ०९:३०

कविता उपाध्याय, पुस १९, रोल्पा । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षको हुनुभयो । सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिनु भयो । 

विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले । विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नुभयो । 

डाँगीका अनुसार २०७१ साल फागनुमा उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि बिदेसिएर फोनबाटै गालीगलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि डाँगी अन्तमा सम्बन्ध विच्छेदको निर्णयमा पुग्नुभएको हो । हाल उहाँले दर्ता गराउनुभएको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ । 

राङ्सी–५ रोल्पाकी दीपा घर्तीमगरले आजभन्दा ८ वर्ष पहिले १५ वर्षको कलिलो उमेरमा कोर्चाबाङ–७ रोल्पाका खडकबहादुर घर्तीसँग प्रेम विवाह गर्नुभएको थियो । सो¥ह वर्षको उमेरमा आमा बन्नुभएका घर्तीले आफ्नो अध्ययनलाई ४÷५ कक्षाभन्दा माथि उठाउन सक्नुभएन । दुबैको मञ्जुरीमा प्रेम विवाह गर्नुभएका घर्तीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए । दिनभरि काम गर्दा पनि श्रीमान्ले पेटभर खान नदिएको, रातदिन कुटपिट गर्ने गरेको, वैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको बेवास्ता गरेको तथा विभिन्न किसिमका घरेलु हिंसा गरेको भन्दै न्यायको ढोका ढक्ढक्याउन उहाँ पटक पटक इलाका प्रहरी कार्यालय घर्तीगाउँमा पुग्नुभयो । पटकपटक घर्तीगाउँ प्रहरीले श्रीमान् श्रीमतीका बीचमा मेलमिलाप गराएर पठायो । तर स्थायी रुपमा उहाँहरुका बीचमा सुमधुर सम्बन्ध कायम हुन सकेन । अन्तमा घर्ती सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा पुग्नुभयो । 

त्यसैगरी, कोटगाउँ–७ रोल्पाका १७ वर्षीया कमला बुढा र कोर्चाबाङ गाविस–२ रोल्पाका २० वर्षीय समीर बुढाबीच २०७० साल भदौ २५ प्रेम विवाह सम्पन्न भएको हो । बुढा दम्पतीका बीचमा पनि सुमधुर सम्बन्ध कायम हुन सकेन । विसं २०७१ असोज १० गते पारिवारिक झगडा भएपछि माइतीघरमै बस्दै आउनुभएका श्रीमती कमला बुढाले २०७३ साल साउन १९ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउनुभएको छ । 

गैरीगाउँ–१ रोल्पाका १८ वर्षीया पवित्रा केसीले बुढागाउँ–९ रोल्पाका १८ वर्षीय हेमराज पुनसँग २०७० साल पुष १५ गते प्रेम विवाह गर्नुभएको थियो । उहाँका श्रीमान् विवाह भएको करिव १ महिनापछि कामको खोजीमा काठमाडाँैंको ईंटा भट्टामा पुग्नुभयो । छ महिना पछि त्यहाँबाट कामकै खोजीमा भारत जानुभयो । यसरी भारत पुगेका श्रीमान्ले घरमा भएकी श्रीमतीको बेवास्ता गर्ने, खर्च नपठाउने गर्न थालेपछि आफ्ना दिनहरु थप कष्टकर बन्दै गएको केसीले बताउनुभयो । 

घरमा भएका परिवारले समेत मानसिक यातना दिन थालेपछि उहाँ माइती घरमा बस्न थाल्नुभयो । 

माइतीले छोरीलाई घरमै बस्ने वातावरण मिलाउन धेरै प्रयास गरेको तर सम्भव नभएको केसीका भाउजूले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले नानीलाई घरमै बसाल्ने वातावरण मिलाउन धेरै प्रयास ग¥यौं तर ज्वाइँले कुटपिट गर्न र यातना दिन छा्ड्नु भएन । माइतीमै राख्नुपर्छ भने किन सम्बन्ध गाँसिरहने भन्ने सोची सम्बन्ध विच्छेदको निवेदन दिन लिबाङ आएका छौं ।” 

राँक–५ रोल्पाका ५० वर्षीया कौशिला विकले पनि सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गराउनुभएको छ । श्रीमान् कुलवीर कामीले मदिरा सेवन गरी कुटपिट गर्ने, गालीगलौज गर्ने, आफ्नो कामको मूल्याङ्कन नगर्ने, सधैं झगडा गरी आफूलाई शारिरीक तथा मानसिक यातना दिने गरेको उहाँले पेस गर्नुभएको निवेदनमा उल्लेख छ । उहाँका मुद्दा पनि विचाराधीन अवस्थामा रहेको अदालतले जनाएको छ । 

यसरी १७/१८ वर्षको उमेरदेखि ५०/५५ वर्षको उमेर समूहका महिलाहरु सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आउने गरेको मुद्दा फाँटका नासु दामोदर दाहालले जानकारी दिनुभयो । 

मुद्दा फाँटका खरिदार दिपेन्द्रराज श्रेष्ठका अनुसार जिल्ला अदालत रोल्पामा यस आर्थिक वर्षमा मात्र जम्मा ५० वटा नयाँ र २० वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका गरी कुल ७० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । यस आवमा ३३ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भइसकेका छ । सातवटा मुद्दामा अंशसहित सम्बन्ध विच्छेद गर्न खोजेको भएपछि अन्य कसैले पनि अंश दावी गरेको देखिएको छैन । 

जिल्ला न्यायाधीस कमलप्रसाद ज्ञवालीका अनुसार सम्बन्ध विच्छेदको समस्या पछिल्लो दिनमा रोल्पा जिल्लामा मात्र नभएर देशभर नै बढ्दै गएको छ । विशेषगरी बालविवाहका कारण विवाह गर्ने उमेरका किशोरकिशोरीले सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको छ । 

यस्तै, प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगर प्रहरी कार्यालय रोल्पामा आएका सबैजसो घटना मिलापत्र गरी पठाउने गरिएको बताउनुहुन्छ । उहाँका अनुसार नगण्य घटना मात्रै सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत पुग्ने गरेका छन् । 

जिविस रोल्पाका सामाजिक विकास अधिकृत रत्नज्योति हमालका अनुसार एकाध बाहेक जिल्लामा बालविवाह गरेका अधिकांश जोडीले नै सम्बन्ध विच्छेद गर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य