काठमाडौँ | ‘हनी ट्र्याप’ मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमाडौं-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य रहेकी छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार अपराह्न कुलेश्वरबाटै पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आचार्यले इलेक्ट्रिक सामान मर्मत गर्ने एक व्यक्तिलाई ‘हनी ट्रयाप’मा पारेकी थिइन्।
‘राइस कुकर बनाउने बहानामा पटक-पटक कोठामा बोलाएर रकम मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ आचार्यले भने।
रकम नदिए जबरजस्ती करणीको झूटा मुद्दा लगाउने धम्की दिँदै पीडितलाई १० लाख रुपैयाँ दिन बाध्य बनाएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार, आचार्यले पीडितसँग ३ लाख रुपैयाँ चेकमार्फत लिएकी थिइन् भने बाँकी ७ लाख एक साताभित्र दिने सर्तमा मोलमोलाई भएको खबर प्रहरीमा पुगेको थियो।
प्रहरी टोलीले कुलेश्वरस्थित उनको कोठाबाटै पक्राउ गरेको हो। उनलाई अपराधको अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।