काठमाडौँ | राजावादीको शक्ति प्रदर्शनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा भनाभन जारी छ।
राजावादीहरूको प्रदर्शनमा आदित्यनाथको तस्बिर प्रयोग गरिएपछि एमाले उपमहासचिव रिमालले पनि सामाजिक सञ्जालमा त्यो तस्बिर राख्दै आलोचना गरेका थिए। त्यसपछि सांसदसमेत रहेका शाहीले उक्त तस्बिर प्रधानमन्त्री ओलीकै निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाउँदै सोमबार फेसबुकमा लेखेका थिए।
जवाफमा रिमालले त्यो कुरा भ्रम भएको खण्डन गर्दै शाहीलाई ‘नालायक’को संज्ञा दिए। जसमा मंगलबार बिहान फेरि शाहीले टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘आदरणीय भनौँ भने कसरी भनौँ- तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ। प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुइँया दिन बन्द गर्नुहोस्। अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ, के प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताले चुनेका हुन्? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन्? लोकतन्त्र त तपाईँहरूजस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो। लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र, तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्।’
यस क्रममा एमाले उपमहासचिव रिमालले पनि जवाफ फर्काएका छन्। शाही कसरी सांसद हुन सफल भए भन्ने विषयमा व्यंग्य गर्दै रिमालले ‘न्युटनका बिरालाको कथा’ सुनाएका छन्।