काठमाडौँ | चलचित्र ‘कर्मा’ का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।
तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको सङ्केत गर्छ ।
उनको यो लुक्सले उनी खलपात्रको रूपमा चलचित्रमा रहेको प्रष्ट पार्छ । ग्रे जोनमा बस्ने खलपात्र रहेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले शुभकामना हो वा चलचित्रमा नै होलीको सिन छ, त्यो भने निर्माणपक्षले प्रष्ट पारेको छैन ।
तर, तराईमा सिनेमा खिचिएकाले होलीको दृश्य हुन पनि सक्ने सामान्य अनुमान गर्न भने सकिन्छ ।
यसअघि, निर्माणक्षले उपासना सिंह ठकुरीको लुक्स पनि सार्वजनिक गरेको थियो । जहाँ उनी कुर्था सुरुवालमा देखिएकी थिइन् ।
‘कर्मा’ लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’ को छायाङ्कन दाङ र काठमाडौंमा गरिएको छ
चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ मा विपीनको पहिलो एक्सन सिनेमा हो ।
‘कर्मा’ मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।