Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ |  कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइले निरन्तरता पाउनेछ ।

मंगलबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । चुडाल र पाण्डेको इजलासले नै अब अन्तरिम आदेश हुने/नहुने निर्णय गर्नेछ । यही चैत १५ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो ।


सरकारले चैत १२ गते मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध कुलमानले चैत १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र हितेन्द्रको नियुक्तिसम्बन्धी निर्णय र पत्र बदरसहित तत्काललाई अन्तरिम आदेश माग गरेका छन् ।

त्यही दिन कार्यकारी निर्देशकमा काम थालेका हितेन्द्रले पनि आफूलाई गैरकानुनीरूपमा हटाएर विगतमा कुलमानले लिएको नियुक्ति अवैधानिक भएकाले आफ्नो पुनर्नियुक्तका विषयमा कानुनी प्रश्न उठाउने अधिकार उनलाई नभएको भन्दै रिट दायर गरेका थिए ।

०६८ साल साउनमा हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्ति दिएको विरुद्ध आफ्नो रिट अदालतमै रहेको भन्दै कुलमानलाई पुनः आफ्नो नियुक्तिमा प्रश्न उठाउने अधिकार नरहेको दाबी उनको छ ।