प्रकाश धौलाकोटी, पौष २७, तेह्रथुम । तेह्रथुमकोे हमरजुङ–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीलाई आफ्नो जीवनको आधा उमेरसम्म कहिल्यै रुन परेन । शरीरमा तागत, पाखुरीमा बल र मनमा जोस जाँगर बाँकी भइन्जेल सबै ठिकै थियो उहाँकालागि । तर बल वैश र जोस जाँगर उमेरसँगै डाँडा काटेर गएपछि अहिले भद्रकुमारीको जीवन दुःखमा होमिएको छ ।
दुई दाजुभाई भएपनि बाबुआमाको हेरचाहमा कमी भएर विजोग हुने डरले उमेरमा विहे नगरेपछि अहिले भद्रकुमारी एक्ली हुनुभएको हो ।
बाबुआमाको मृत्युपछि एक्लै बस्दै आउनुभएकी उहाँको आफ्नो नाममा पैतिृक सम्पतीपनि छैन । दाजुभाईले पनि साथ दिएनन् र अन्ततः उहाँ एक्ली हुनुभएको हो ।
बस्दै आएको घर २०६८ साल असोज १ गतेको भुकम्पले भत्काइदिएपछि भद्रकुमारीको गाँस र बास दुवै विचल्ली भयो ।
हाँ त्यसयता घर छेऊको बाख्राको खोरमा बस्दै आउनुभएको छ । तर बाख्राको खोरमा ओत लागेर गुजारा चलाएपनि चिसो र जाडोको मौषममा भने भद्रकुमारीलाई निकै सकस हुन्छ ।
यसवर्ष पनि चिसो सुरु भएपछि बुढेसकालको शरीरमा रोग र विभिन्न शारीरिक समस्याले च्याप्दा भद्रकुमारी दुई हप्तादेखि थला पर्नुभएको छ । भुकम्पले घरमा क्षति गरेपछि आर्थिक कमजोरीकै कारण बास बस्न ओत लाग्ने घर बनाउन नसकेको तोलाङ्गीले बताउनुभयो । भुकम्पले घरमा क्षतिपुर्याए बापत राहत स्वरुप पाएको त्रिपालपनि च्यातिएपछि आफुले पालेका बाख्राको खोरमा उहाँ बस्न र रात विताउन बाध्य हुनुभएको हो ।
बाख्राको खोरको छानोपनि भत्किएको छ ।
छानोमा लगाएको च्यातिएको पाल, केही केही थोत्रा कपडा र वरिपरि पनि खुला रहेको गोठमा बास बस्नु भद्रकुमारीको दुःख बाध्यता छ । ओत लाग्ने घरदेखि गाँस र साथकालागि धेरैलाई गुहारेँ, उहाँले भन्नुभयो–तर गाउँका मान्नेगन्नेले पनि वास्ता गरेनन् ।
वर्षामा पानी परेपनि न्यानो हुँदोरहेछ, भद्रकुमारीले गहभरि आँसु पारेर भन्नुभयो– जाडो समयमा रात कतिबेला बित्छ भन्दै रात कटाउनु परेको छ । गरिब र निमुखालाई त कसैले हेर्दैन रहेछन् भद्रकुमारी भन्नुहुन्छ–यो संसार पनि हुने खानेका लागि मात्रै हो, नहुने र निमुखालागि कसैले बोल्दैनन् ।
उमेरले ६० काटेकी भद्रकुमारीको नागरिकता पनि छ । तर आफैँले प्रक्रियाबारे जानकारी नपाउँदा गाउँ विकास समितिको कार्यालयबाट पाउने सामाजिक सुरक्षा भत्ता पनि पाउनु भएको छैन ।
वर्षौदेखिको आफ्नो दुःख देखाएर गुहार गर्दापनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो । ज्यानले सकिन्जेल बनीबुतो गरेर गुजारा चलाएँ, दिनभर साथीभाइसँग हाँसीखुसी ठिकै थियो, भद्रकुमारी भन्नुहुन्छ–तर यी चार वर्षका हरेक रात मेरा आँखा ओभाना रहेनन्, हिउँदमा चिसो बढ्दा र विरामी पर्दा मेरो सास कहिले जाला भनेर कुर्ने गरेकी छु ।