पढ्न करिब 2 मिनेट लाग्छ

असोज ६, पर्वत। जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौँ तीर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा कागबेनीमा पितृश्राद्ध गर्नका लागि गएका बढी मात्रामा अलपत्र परेका हुन् । पहिरो गएपछि अधिकांश सवारीसाधन तथा यात्रु मुस्ताङको घाँसामै अड्किएका छन् ।

मुस्ताङतर्फ जाँदै गरेका सवारीसाधन पहिरोभन्दा वारि नै रोकिएका छन् भने मुस्ताङबाट फर्किन लागेका सवारीसाधन घाँसामा रोकिएको तीर्थयात्री गणेश गिरीले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले तत्काल पहिरो खुलाउने सम्भावना नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । वर्षा निरन्तर परिरहँदा जाडोले तीर्थयात्री कठ्याङग्रिएको बताइएको छ । वर्षा रोकियो भने साँझसम्म सडक खुलाउन सकिने अधिकारीले जानकारी दिनुभयो ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङबाट दुईवटा डोजर र स्काभेटर पठाइएको छ । पछिल्लो समय हवाई यात्राबाट भन्दा सडकमार्गबाट मुस्ताङ जानेको आकर्षण बढ्दै गएको छ ।

पटकपटक जहाज दुर्घटनामा पर्न थालेपछि तीर्थयात्री तथा पर्यटक सडक मार्ग हुँदै जाने गरेका हुन् । बिहीबार दिउँसो १ बजेदेखि पहिरो पन्छाउने प्रयास भए पनि वर्षाका कारण सम्भव नभएको प्रजिअ अधिकारीको भनाइ रहेको छ । रासस