प्रकाश धौलाकोटी/चैत ४, तेह्रथुम । दुई वर्ष अघिसम्म नजिकको बिखे सौरेनी सामुदायिक बन समुहको उपभोक्ता मात्र रहनुभएकी तेह्रथुमको ओख्रे–८ की इमकला खुलाल समुहको बिधान संशोधनपछि बसेको आम भेलाबाट अध्यक्षमा चयन हुनुभएको छ ।
उपभोक्ता मात्र हुँदा समुहको बैठक, गोष्ठी र भेलाबारे खासै थाहा नपाउने उहाँले अध्यक्ष भएपछि विभिन्न विषयका सचेतना गोष्ठी, तालिम र त्यस्ता थुप्रै कार्यक्रममा सहभागी बन्ने अवसर पनि पाउनुभएको छ ।
अहिले खुलालको नेतृत्वमा चलिरहेको बन समुह गाविसकै नमुना बन बन्दैछ । खुलालले अध्यक्षमा रहेर काम गर्न थालेपछि समुहको स्वरुप नै बदलिएको उपभोक्ताहरु बताउँछन् । सुदाप र ओख्रे गाविसका करिब एक सय उपभोक्ता आवद्ध समुहको अध्यक्ष भएर काम गर्दा आफुलाई पनि खुसी लागिरहेको इमकला बताउनुहुन्छ । उहाँ अध्यक्ष भएपछि समुहको नियमित बैठक, भेला, आमसभा, सार्वजनिक सुनवाई, लेखा परीक्षण लगायत समुहका क्रियाकलाप नियमित रुपमा भइरहेका छन् ।
उहाँले नै समुहको आर्थिक, सामाजिक र भौतिक व्यवस्थापन तथा विकासमा योजना निर्माण गर्न भूमिका खेलिरहनुभएको छ । अब महिला पनि पुरुष भन्दा कम छैनन्, उहाँ भन्नुहुन्छ–अहिले म महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्छन् भन्ने उदाहरण पनि बनेकी छु । समुहमा अहिले मुख्य पदसँगै महिलाको ५० प्रतिशत सहभागिता रहेको उहाँले बताउनुभयो ।
खुलाल जस्तै फाक्चामारा–७ की राजकुमारी लिम्बुले पनि स्थानीय नौसिंगे रानी सामुदायिक बन समुहको सचिव भएर काम गर्न थालेको वर्ष बढी बितेको छ । यता पुर्वी इवा गाविसको कालेगैरी सामुदायिक बन समुहको सचिव पनि वार्ड नं. ६ की दिलकुमारी गुरुङले काम गरेरै चलाइरहनुभएको छ । फाक्चामाराकी फिपरानी लिम्बुले पनि काभ्रे सामुदायिक बन समुहको अध्यक्ष भएर काम गरिरहनुभएको छ ।
महिलापनि अवसर पाए पुरुष जत्तिकै सक्षम भएर काम गर्न सक्छन् भन्ने पुष्टि गर्न यीनै उदाहरण काफी छन् । राज्यले जनतालाई बनहरु जिम्मा लगाएपछि पछिल्लो समयमा बन समुहहरु जंगलको संरक्षणमात्र नगरेर समाजमा परिवर्तन र विकासकालागि उदाहरण समेत बन्न थालेका छन् ।
जिल्लाका बन समुहहरुले अन्य समुह संघ संस्था र सरकारी निकायहरुलाई सुशासनबारे पाठ सिकाइरहेको सामुदायिक बन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष तुलसी संग्रौला बताउनुहुन्छ ।
बन समुहहरुले माथि उल्लेखित जसरी नेतृत्वमा लक्षित वर्गलाई ल्याएका मात्र छैनन् जिल्ला महासंघका अध्यक्ष संग्रौला भन्नुहुन्छ–बनबाट संकलन गरेको आम्दानी महिला, पिछडिएका वर्गको उत्थान, बन स्तरीकरण र सुशासनकालागि खर्च गरी अन्य संस्थालाई समेत सुशासन सिकाइरहेका छन् । समुहमा महिलाको नेतृत्वदायी भुमिका हुँदा आर्थिक पारदर्शिता र संस्थागत विकासमा समेत सहयोग पुगेको देखिएको उहाँले बताउनुभयो ।
बन समुहहरुले समुहमा महिला, दलित, आदिवासी जनजाति र लक्षित वर्गको सहभागितासँगै सुशासन र पारदर्शिताका क्षेत्रमा उल्लेख्य कार्य गरिरहेका छन् । समुहहरुमा समावेशी सहभागिता, पारदर्शिता र सुशासनकालागि जिल्ला बन महासंघ र नेपाल ग्रामीण पुनःनिर्माण संस्थाको साझेदारीमा सन्चालित बहुसरोकारवाला बन कार्यक्रमले सहजीकरण गरिरहेको छ ।
जिल्लाको दुई नगरपालिकासहित २१ वटै गाविसका गरी कुल ३ सय ३० सामुदायिक बनहरु मध्ये अधिकांश बन समुहहरुमा महिला सहभागिता ५० प्रतिशत माथि रहेको नेपाल ग्रामीण पुनःनिर्माण संस्थाका जिल्ला संयोजक सुमित गौतमले बताउनुभयो ।
यी समुहहरुमा बनको उपभोक्ताको सुचीमा एकै परिवारका पुरुषको बराबर अधिकार महिलालाई दिइने गरी बैधानिक व्यवस्था नै गरिएको र सोही बमोजिम भइरहेको उहाँले जानकारी दिनुभयो ।
उनीहरुले समुहमा छलफल गरी सुशासनयुक्त समुह निर्माण गरेर अन्य बन र स्थानीय संघ संस्थालाई समेत सुशासन, पारदर्शिता र विकासका निम्ति प्रोत्साहन गरिरहेको जिल्ला संयोजक गौतमले बताउनुभयो । सामुदायिक बनहरुबाट सरकारी तथा गैरसरकारी निकायहरुले पाठ सिक्न आवश्यक रहेको उहाँको जोड छ ।