काठमाडौँ | नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच, प्रहरीले बाफलबाट करिब रु चौध लाख सन्तानब्बे हजार पाँच सय भन्सार छलीका सामान बरामद गरेको छ । धनगढीबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छलि गरी ल्याइएका मोबाइलका विभिन्न सामग्री बरामद गरेको हो ।
प्रहरीले सो बसका चालक कञ्चनपुरको बेलौरी नगरपालिका–६ का २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान पश्चात् पक्राउ परेको व्यक्ति र सामन त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।