काठमाडौँ | पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि काठमाडौँ ग्राण्डी चोक बस्दै आउनुभएका निरज पन्तको जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महाराजगञ्जमा गोली लागेर निधन भयो ।
राजनीतिप्रति खासै चासो नराख्ने पन्त त्यस दिन घरबाट हात्तीगौडास्थित पसल जाने क्रममा महाराजगञ्ज चोकमा भएको आन्दोलनकारी र प्रहरीबीचको झडपमा गोली लागेर सहिद हुनुभयो । राजनीतिमा चासो नराख्ने भए पनि उहाँलाई त्यस दिन भएको आन्दोलनप्रति भने चासो लिनुभएको थियो । त्यसैले महाराजगञ्ज पुगेर आन्दोलनको भीडमा उहाँ मिसिनुभयो । भिडमा मिसिएका केही समयमै पन्तको छाती र पेटमा गोली लाग्यो । त्यसको क्षणभरमै उहाँको निधन भयो ।
त्यो दिनको स्मरण गर्दै श्रीमती कमला अवस्थी भन्नुहुन्छ, “खाना खाएपछि पसल पुगेर आउँछु भनेर घरबाट निस्कनुभएको थियो, उहाँ महाराजगञ्ज जानु होला भन्ने कल्पना नै थिएन, तर उहाँ फर्केर आउनुभएन, २४ घण्टासम्म अत्तोपत्तो भएन, उहाँको पर्स र मोबाइल अझै फेला परेको छैन ।”
मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, राजनीतिमा पुस्तान्तरण, सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको फुकुवाको माग गर्दै भदौ २३ गते काठमाडौँ नयाँ बानेश्वरमा उत्रिएका युवापुस्तामाथि गरिएको दमनको विरोधमा त्यो दिन देशभर नै आन्दोलन उत्कर्षमा थियो ।
धापासीका कीर्तिवल्भब पन्तका ५० वर्षीय जेठा छोरा निरजको हात्तीगौडामा पतन्जलीका उत्पादन बिक्री गर्ने पसल थियो । त्यो दिन निरज खाना खाएर पसल निस्कनुभयो ।
त्यति नै बेला महाराजगञ्ज चोकमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी चलिरहेकै थियो । आन्दोलनकारीले चौकीमाथि आक्रमण गर्नुका साथै केही प्रहरीलाई सडकमा ल्याएर कुटिरहेका थिए । त्यो घटनाले चोक रणमैदान जस्तै थियो ।
सहयोगी भावनाका निरजले लामो समयसम्म त्यस क्षेत्रमा पसल चलाएकाले धेरैजसो स्थानीयले चिन्थे । आन्दोलनलाई नजिकबाट नियाल्ने क्रममा पन्तले आफू चढेको मोटरसाइकल महाराजगञ्जस्थित ‘टिपटप’मा राख्नुभयो । अनि उहाँ महाराजगञ्ज चोक पुग्नुभयो । एक्कासी गोली चल्यो । उहाँलाई छाती र पेटमा दुई वटा गोली लाग्यो अनि त्यही ढल्नुभयो ।
गोली लागेपछि पन्तलाई मेट्रो अस्पताल पु¥याइएकामा त्यहाँबाट पनि सिधै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरियो । महाराजगञ्ज अस्पताल पु¥याउनुअघि नै निरजको मृत्युको सिधैँ शव घरमा पठाइयो । उहाँसँगै गोली लागेर सोही स्थानमा चार जनाको ज्यान गरेको रहेछ ।
बाहिर आन्दोलन रहेको तथा घरबाट हिँडेका निरजले पसल पुगेको खबर नगरेपछि परिवारजनमा छटपटी भयो । उहाँको मोबाइलमा निरन्तर फोन सम्पर्कका लागि कोसिस भए पनि सम्भव भएन । आफन्तहरुसँग सोधपुछ भए पनि कहीँकतै फेला परेन । घटना भएको भोलिपल्ट महाराजगञ्ज क्षेत्रमा सोधपुछ हुँदा चार जनालाई गोली लागेको परिवारले खबर पाए ।
त्यही आधारमा मेट्रो अस्पताल हुँदै टिचिङ अस्पतालमा पुगेर जानकारी लिइयो । टिचिङमा कार्यरत पन्त परिवारका आफन्तले शव घरमा गएर हेरेपछि निरजको महाराजगञ्ज घटनामा गोली लागेर निधन भएको यकिन भयो ।
शव गृहमा सेतो कपडाले बेरिएको शव देख्दा परिवारजन भक्कानिए अनि सन्नाटा छायो । परिवारजनले उहाँको मृत्यु भएको २४ घण्टापछि थाहा पाएका थिए ।
निरज महाराजगञ्ज घटनामा पर्दा उहाँका बुबा र आमा सीता महेन्द्रनगरमै हुनुहुन्थ्यो । निरजले त्यसदिन बिहान बुबाआमालाई अघिल्लो दिन बानेश्वरमा भएको प्रदर्शन र मानवीय क्षतिको घटनाबारे सुनाउनुभएको थियो ।
त्यसलगत्तै उहाँहरुले आन्दोलनमा नजान निरजलाई सुझाउनुभएको थियो । निरजका बुबा कीर्तिबल्लव भदौ २६ गते महेन्द्रनगरबाट काठमाडौँ आउनुभयो । छोराको शव बुझेर सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गर्नुभयो ।
बुबा कीर्तिबल्लवले सुने अनुसार छोरा निरजले महाराजगञ्ज चौकीमा प्रहरीमाथि कुटपिट गरेको देखेपछि त्यसलाई रोक्न अघि बढ्नुभएको थियो रे । त्यसघटनामा परेपछि घरबाट पसल हिँडेका निरज न पसल पुग्नुभयो, न त घर नै फर्किए ।
निरजका पत्नी कमला भन्नुहुन्छ, “घरमा हामीबीच कुनै राजनीतिक कुराकानी हुँदैन थियो, साथीभाइसँग गर्नुहुन्थ्यो कि थाहा भएन । आन्दोलनका कुरा घरमा गर्नुभएन । कसरी त्यहाँ आन्दोलनमा जानुभयो र पर्नुभयो त्यो हामीलाई थाहा भएन ।”
निरजकी छोरी कानुन सङ्कायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ भने छोरो सूचना प्रविधिसम्बन्धी विषयमा अमेरिकाको टेक्सासमा अध्ययनरत हुनुहुन्छ ।
साइप्रसबाट होटल म्यानेजमेन्टमा स्नातक निरज योग गुरु र आयुर्वेदको जानकार हुनुहुन्थ्यो । सोही सन्दर्भमा निरजले पतञ्जलीको डिलर लिएर पसल चलाउनुभएको थियो । सुरुमा महाराजगञ्जमा चलाउनुभएको पसल भाडा महँगो भएपछि हात्तीगौडामा सार्नुभएको थियो ।
निरजका साथी रमेश पौडेलको पनि हात्तीगौडामा फेन्सी पसल सञ्चालनमा छ । रमेश भन्नहुन्छ, “हामी छ वर्षदेखि सँगै छौँ । उहाँको पतञ्जलीका उत्पादन बिक्री गर्नुहुन्थ्यो । उहाँको पसल नजिकै मेरो पनि पसल छ ।” उहाँका अनुसार निरज सबैलाई सहयोग गर्ने स्वभावको हुनुहुन्थ्यो ।
रमेशका अनुसार निरजको परम्परागत राजनीतिमा खासै चासो राख्नुहुन्थेन । “बुबा र आमाको कुरालाई बेवास्ता गरी निस्कनुभएछ, उहाँ त्यहाँ पुग्नु र गोली लाग्नु एकै समयजस्तै भयो । नसोचेको कुरा भयो । घटनाले आन्दोलनमा लागेजस्तै भयो”, उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप रु १५ लाख आर्थिक सहयोग गरेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।