जेठ २८,काठमाडौं । ललितपुरको युएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार भएको छ । उनीमाथि जवाफी कारबाहीस्वरुप गोली प्रहार गरेको महानगरीय अपराध महाशाखाको टोलीले जनाएको छ । महाशाखाका एसएसपी धिरजप्रताप सिंहले लामाले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायर गरिएको बताए ।
उनका अनुसार लामामाथि यसअघि दुईपटक ज्यान मार्ने उद्योग र अन्य सार्वजनिक अपराधमा पनि मुद्दा चलेको थियो । उनी व्यावसायीसँग चन्दा आतंक गर्ने, धम्क्याउनेलगायत कार्यमा संलग्न रहेको र उनको खोजी कार्य भइरहेको एसएसपी सिहंले बताए । घटनास्थलबाट १ थान पेस्तोल र दुई गोली बरामद भएको उनले बताए ।
दायाँ खुट्टामा गोली लागेका लामाको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ । गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।