भदौ २१, काठमाडौं । काठमाडौंको स्वयम्भूमा भित्रबाट बन्द गरिएको कारभित्र एक जना युवक मृत भेटिएका छन् ।
मकवानपुरको मार्खु–७ घर भइ नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठ कार भित्र मृत फेला परेका हुन्।
विगत तीन दिनदेखि स्वयम्भू हाइटमा सडक छेऊ पार्किङ गरी राखेको कारबाट गन्ध आएपछि शुक्रबार बिहान प्रहरीको क्यूआरटी टोलीले टर्च बालेर हेरेको थियो ।
क्यूआरटी टोलीले टर्च बालेर हेर्दा एक जना सुतिरहेको जस्तो देखिएको र त्यसपछि खोजतलास गर्दा युवक मृत भेटिएका हुन् ।
श्रेष्ठको शव कारको पछाडि पट्टीको सिटमा घोप्टे परेको अवस्थामा भेटिएको थियो । जहाँ उनले बान्ता पनि गरेका थिए ।
उनको शरीरमा चोटपटक देखिएको छैन भने कारको चाबी र घडी अगाडिको सिटमा राखेको भेटिएको छ ।
प्रारम्भिक रिपोर्टले उनको हत्या भएको संकेत नगरे पनि वास्तविकता भने शवको पोष्टमार्टम रिपोर्ट आएपछि नै खुल्नेछ |