बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाण्डौ पठाइयो

Posted on: 24 Sep, 2018

असोज ८, नवलपरासी | पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाडाँै पठाइएको छ ।

रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने गरी मानसिक सन्तुलन गुमाएकी ती महिलालाई आवश्यक उपचारका लागि काठमाडौँ पठाइएको हो । सुत्केरीको मानसिक अवस्था राम्रो नभएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि काठमाडौँ लगेको नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ताले बताउनुभयो । 

बच्चा जन्माइरहेको रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था राम्रो रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा अनन्तकुमार शर्माले जानकारी दिनुभयो । 

महिलालाई मानसिक सन्तुलनको उपचार गर्न तीन महीनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख रम्भा कुँवरले बताउनुभयो । तीन महीनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ । बच्चालाई भने अहिले अस्पतालमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीले बच्चाको रेखदेख गर्दै आएको स्वास्थ्य अवस्था राम्रो रहेको डा शर्माले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!