मंसिर १८, काठमाडौं । काठमाडौंको मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो सेफको ताला फुटाएर ४ लाख रुपैयाँ चोरी भएको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार सहकारीको सीसी टीभीमा पनि ताला फुटाएको दृश्य कैद भएको छैन । सीसी टीभीमा पनि केही नदेखिएकाले सहकारीको वस्तुस्थितिबारे राम्रोसँग जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
यसैबीच, काठमाडौं, गोकर्णेश्वर-७ मा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनका विभिन्न गरगहनासहित नगद रुपैयाँ पनि चोरी भएको छ ।
धादिङ घर भएका नवराज घिमिरेको कोठाबाट सोमबार साँझ सुनका विभिन्न किसिमका गरगहना २ तोला र नगद २० हजार रुपैयाँसहित गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।