पुष २२, लेकवेशी (सुर्खेत) | जंगलमा फिरन्ते जीवन बिताउँदै आएको लोपन्मुख जाती राउटे समुदाय सामाजिकरणतर्फ उन्मुख हुन थालेका छन् । आफूलाई जंगलको राजा राउटे जाती विगत जस्तो जंगलमा खानेकुरा पाइन छाड्दा र आफूले बनाएका काठका भाँडा विक्री नभएपछि बिस्तारै अरु नागरिक सरह जीवन बिताउनतर्फ उन्मुख हुन थालेको हो ।
कुनै बेला रुपैयाँ छोएमा पाप लाग्छ भन्ने जंगलको राजा राउटे अहिले बस्तीमा पुग्ने जो–कोहीबाट रुपैयाँ माग्ने गरेका छन् । यति मात्रै हैन् आफूले पाउने सामाजिक सुरक्षा भत्ता र खाद्यन्न सरकारले कहिले पठाउँछ भन्दै बस्तीमा पुगेका अन्य नागरिकलाई फोन गरिदिन आग्रह गर्छन् । जंगलमै बस्ने र अन्य जातिसंग घुलमिल हुन नचाहने राउटे जाति अहिले अन्य समुदायहरुसंग खुलेरै कुरा गर्ने गरेका छन् । प्रदेश सरकार, स्थानीय सरकार र गैर–सरकारी निकायहरु पनि राउटेलाई एकै ठाउँमा बसोबास गर्ने अभियान चलाइरहेका छन् । लज्जालु स्वभावको राउटे विगतमा आफ्नो समुदायभन्दा बाह्य समुदायका नागरिकहरुसंग बोल्न रुचाउदैन्थ्यो । राउटे समुदायका मुखिया र पुरुषहरु मात्रै अन्य समुदायका नागरिकहरुसंग बोल्थे । हाल यो समुदायका महिला र बालबालिकाहरु पनि खुलैरै बोल्ने, गित गाउने र आफ्ना अनुभव साटासाट गर्नमा उद्धत हुने गरेका छन् ।
गुराँस गाउँपालिकाको अगुवाईमा पहिलो पटक राउटेले परिचय–पत्र वितरण गरेपछि उनीहरु अन्य समुदायसंग झन नजिक हुन थालेका छन् । कतिपय राउटे अगुवाहरु नै आफ्नो स्थायी ठेगाना गुराँस गाउँपालिका भएको बताउँछन् । जंगलमा शिकार नपाइने, कन्दमुल, फलफूल र अन्य वनस्पति समेत अप्रयाप्त बन्दै गएपछि अन्य जाति सरहको रहनसहनमा रमाउँदा खुसी लाग्ने राउटे समुदायका मुखिया सूर्यनारायण शाही बताउँछन् । ‘वर्षौंदेखी जंगलमै हाम्रा पुर्खाले जीवन बिताए हामी पनि त्यसरी नै जान्या हो’ राउटे मुखिया शाही भन्छन्, ‘हाम्रो पुस्ता विस्तारै अन्य जाति जस्तै रमाउन र खान सिक्यो । हाम्रा छोरा नाती त तपाईँ जस्तै भैसक्लान त ।’ जंगल नै सबथोक मान्ने राउटे आफ्ना जनता अन्य समुदायसंग रमाउँदा राउटे मुखिया खुसी छन् । ‘अहिल्यै पढ्न नजाम्ला, तपाइँका जस्ता कपडा नलाउम्ला तर विस्तारै–विस्तारै तम्रा जस्तै कपडा लाउन्या हुम्’ राउटे मुखिया शाही भन्छन् ।
वर्षौंदेखी जंगलमै फिरन्ते जीवन बिताउने राउटे समुदायलाई एकै पटक स्थायी बासिन्दा बनाउन नसकिने निष्कर्ष सरोकारवालाको छ । तर उनीहरुसंग नजिकीदै नाच्न, खाना खान, सरसफाई गर्न र बालबालिकासंग खेल्दै सिकाउने अभियानमा सरोकारवाला निकाय जुटिरहेको छ । प्रदेश पाँचको दाङ, कर्णालीका सुर्खेत, सल्यान, दैलेख र प्रदेश सातका अछाम जिल्लाका जंगलहरुमा यो जाति फिरन्ते जीवन बिताउँदै आएको छ । गुराँस गाउँपालिकाले उनीहरु बस्ती सरेको ठाउँमै पुगेर भत्ता वितरण गर्दै आएको छ । प्रदेश सरकार, स्थानीय तह र गैर–सरकारी संस्थाको साझा उदेश्य पनि जंगलमा हुने विभिन्न खालका संक्रमणले जाती नै लोप हुने खतरामा रहेकाले राउटेको जीवन्त बचाउन र उनको संस्कृतिसहितको पहिचान झल्कने स्थायी घरमा बसोबास गराउनु हो । हाल सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बस्ती सरेको राउटे जातीको संख्या १४५ जना छन् । ६ महिना अघि मात्रै यो जातिको संख्या १५६ जना थियो ।
राउटे बस्तीमा पुगेरै सामाजिक विकास मन्त्रालयले स्वास्थ्य शिविरमा सञ्चालन गरेको छ । शिविरमा कर्णाली प्रदेश अस्पतालका डा. लोकेन्द्र थापासहितको टोलीले राउटेहरुको स्वास्थ्य परिक्षण गरेको छ । राउटे बालबालिकमा कुपोषण तथा सुकेनासको लक्षण देखिएको डा. थापाले जानकारी दिए । उनले अन्यमा भने दम, छातीमा समस्या र चोटपटक भएको पाइएको बताए । मासिम रुपमा कम्तिमा दुई पटक उहाँहरुको लागि चेकजाँच गर्न शिविर सञ्चालन आवश्यक रहेको समेत थापाको भनाई छ । मन्त्रालयले कोट, जुता, चामल, प्रिम्याट र बालबालिकाहरुका लागि खेलौना वितरण गरेको छ । गुराँस गाउँपालिकाले दुई हजारका दरले १४५ जनालाई दुई लाख ९० हजार मासिक भत्ता समेत दिएको छ ।
डा. मानबहादुर विके | सचिव, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश
राउटे समुदायलाई एकै पटक स्थायी घरमा ल्याउन सकिदैन् । किनकी वर्षौंदेखी उहाँहरु जंगलमै बस्दै आउनु भएको छ । उहाँहरु तत्कालै स्थायी ठाउँमा घर बनाएर बस्न मान्नु हुँदैन् । तर हामी उनीहरुसंग नजिक भएर उहाँहरुलाई सामाजिकीकरण गर्ने अभियानमा जुटिरहेका छौं । सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबार मात्रै हामीले लेकवेशी नगरपालिका–१ रातेखोलामा रहेको राउटे बस्तीमै पुगेर सामुहिक भोजन र स्वास्थ्य चेकअप ग¥यौं । उहाँहरुसंगै नच्यौं, रमायौं र औषधी खानुपर्छ भन्ने सन्देश दिएर औषधी पनि खुवायौं । मन्त्रालयको उदेश्य उहाँहरुलाई आधुनिक समाजसंग घुलमिल गराएरै स्थायी घरमा ल्याउनु हो । जंगलमा बस्दा अप्रयाप्त खाना र सरसफाईमा ध्यान नदिँदा विभिन्न संक्रमण भएको पाएका छौं । उहाँहरुको जीवन्त बचाउँन मन्त्रालयले नीति नै बनाएको छ । आगामी दिनमा पनि उहाँहरुको नियमित चेकजाँच गर्ने र रेखदेखका लागि कार्यविधि बनाएर अघि बढ्ने तयारीमा छौं ।
हिरासिंह थापा | अध्यक्ष, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख
राउटसंगै भएर काम गर्न लागेको ६ महिना भयो । त्योभन्दा अघि छिटफुट मात्रै काम गथ्र्यौं । उहाँहरुलाई सामाजिकरणमा ल्याउन गाउँपालिकाको समन्वयमा परिचय–पत्र वितरण गरिसकेका छौं । उहाँहरुको बस्ती जहाँ गएपनि हामीले दुई जना कर्मचारी खटाएका छौं । स्वास्थ्यसम्वन्धी काम गर्ने अहेव र पढाउन शिक्षिका नै उहाँको बस्तीमा खटाएका छौं । महिलाले राउटे महिला तथा बालबालिकासंग नजिक भएर अक्षर चिन्न सिकाउने र सरसफाई गर्नुपर्छ भन्ने सिकाउनुहुन्छ । हामी उहाँहरुसंगै दुई वर्षसम्म काम गर्नेछौं । समस्या परेका बेला आवश्यक सामग्री जुटाइदिने गरेका छौं । हाम्रो उदेश्य भनेकै दुई वर्षसम्म राउटे बालबालिकाहरुलाई नाम लेख्न सक्नाउन सिकाउने, सामाजिक र समावेशीकरण गर्दै स्थायी बसोबासमा ल्याउने नै हो । यति मात्र हैन उहाँहरुको संस्कृती जगेर्ना गर्दै एकठाउँमा स्थायी बसोबास गर्ने कार्यमा पनि हामी लागि परेका छौं ।